
पोखरा, २४ भदौ,
‘घर जल्यो, भत्कियो, तर हिम्मत जलेको छैन। धनसम्पत्ति गुम्यो, तर आशा गुमेको छैन। सम्झनाका चिनोहरू खरानी भए, तर सपना खरानी भएको छैन।’पोखराकी एक व्यवसायी मिलन थापाले सामाजिक सञ्जालमा लेखेका यी शब्द केवल एउटा भावुक अभिव्यक्ति मात्र होइनन्, एक वर्षअघि आफ्नै आँखाअगाडि घर, व्यवसाय र जीवनभरको मेहनत आगोमा खरानी भएको परिवारको पीडाको दस्तावेज हुन्।
आज भदौ २४ गते। थापा परिवारले त्यो कहालीलाग्दो दिन भोगेको पनि एक वर्ष पूरा भएको छ। आफ्नै पसिना, परिश्रम र जीवनभरको कमाइले बनाएको घर तथा कार्यालय भवन एकाएक आगोको लप्कामा विलीन भएको दिन। आगोले भवन मात्रै जलाएन। वर्षौंको मेहनत, आर्थिक लगानी, सम्झना र परिवारले सँगालेका अनेकौँ सपना पनि एकैपटक खरानी बनाइदियो। त्यस दिन थापा परिवारका सदस्यहरू मुस्किलले ज्यान जोगाउन सफल भए। तर घरमा काम गर्न बसेकै कारण एउटी निर्दोष युवतीले ज्यान गुमाउनुपरेको पीडा परिवारका लागि झनै गहिरो बनेर बसेको छ।
एक वर्षपछि पनि त्यो घटनाको सम्झना आउँदा शरीर सिरिङ्ग हुने गरेको मिलन बताउनुहुन्छ। ‘झन्डै सपरिवार त्यही आगोभित्रै जलेर समाप्त हुनबाट मुस्किलले बचेको त्यो क्षण आज पनि सम्झिँदा शरीर सिरिङ्ग हुन्छ,’ उहाँले लेख्नुभएको छ। ‘अझै पीडादायी कुरा—हाम्रो घरमा काम गर्न बसेकै कारण एउटी निर्दोष बहिनीले आफ्नो अमूल्य जीवन गुमाउनु परेको त्यो दुःखद सत्य हो।’ त्यो घटनाले जन्माएको एउटा प्रश्न भने अझै अनुत्तरित छ—राजनीतिमा कहिल्यै जिम्मेवार भूमिकामा नरहेका आफूहरूले आन्दोलनका नाममा यति ठूलो मूल्य किन चुकाउनुपर्यो एक वर्ष बितिसक्दा पनि त्यो आगजनीमा संलग्नमाथि कारबाही भएको छैन। घर तथा व्यवसाय पुनर्निर्माणका लागि राज्यबाट क्षतिपूर्ति पाउने अवस्था पनि बनेको छैन। आगोले खरानी बनाएको संरचना अझै पूर्ण रूपमा उठ्न सकेको छैन। तर यति ठूलो पीडाबीच पनि थापा परिवार रोकिएको छैन।
आफ्नै घर बनेन, अरूको घरमा सहयोगको हात
आफ्नो घर पुनर्निर्माण पूरा नभएपछि मिलन थापा र उहाँका श्रीमान् ध्रुव थापा अहिले एक साथीले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आउनुभएको छ। आफ्नै जीवनमा विपत्ति आइपरेको एक वर्ष पनि पूरा नहुँदै उहाँहरू फेरि अर्को विपत्तिमा परेका नेपालीको दुःखमा साथ दिन नुवाकोट र त्रिशूली क्षेत्रमा पुग्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि थापा परिवारले ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ। राहत तथा सहयोग सामग्रीसमेत लिएर उहाँहरू बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको हो।
थापा परिवारले सञ्चालन गर्दै आएको म्याक्सस नेपाल र हिमालय अर्गनाइजेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ५० लाख रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई केही दिनअघि नै हस्तान्तरण गरिएको थियो।आफ्नै घरको भग्नावशेष र अधुरो पुनर्निर्माणको पीडा बोकेर हिँडिरहेको परिवारले अरूको पीडामा भने आफूलाई अलग राख्न सकेन। आफूले भोगेको पीडाले नै अरूको दुःखलाई नजिकबाट बुझ्न सिकाएको मिलन बताउनुहुन्छ। भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिले आफूहरूलाई पनि गहिरो पीडा भएको भन्दै उहाँले विपत्तिमा परेका परिवारका लागि केही गर्न पाउनु आफ्नो दायित्व भएको बताउनुभएको छ।
‘हामी फेरि उठ्नेछौँ’
व्यवसायी जीवनमा आरोह–अवरोह आउनु स्वाभाविक भए पनि कठिन परिस्थितिले आफ्नो इच्छाशक्ति र हिम्मतलाई रोक्न नसक्ने ध्रुव र मिलनको भनाइ छ। घर गुम्यो, व्यवसायमा ठूलो क्षति भयो, जीवनभरका सम्झना खरानी भए। तर सपना सकिएको छैन। मिलनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘त्यो पीडा बोकेर फेरि उठ्नु सजिलो थिएन। तर जीवनसँग सम्झौता गर्नुपर्दो रहेछ, किनकि जतिसुकै ठूलो विपत्ति आए पनि जीवन रोकिँदैन रहेछ।’ उहाँका अनुसार एक वर्ष बितिसक्दा पनि घर पूर्ण रूपमा पुनर्निर्माण हुन सकेको छैन। गाह्रो भए पनि शुभेच्छुकहरूको हौसला र साथले फेरि अघि बढ्ने प्रयास भइरहेको छ।‘फेरि मेहनत गर्दैछौँ। फेरि सपना देख्दैछौँ। किनकि फेरि दौडिनु छ,’ उहाँले लेख्नुभएको छ।आफूहरूले भोगेको पीडा र अहिले भोटेकोशी बाढीका कारण घरबारविहीन भएका परिवारको पीडा तुलना गर्दा शब्द नै नपुग्ने उहाँको भनाइ छ।
एक वर्षअघि आफूहरू राजनीतिक घटनाको प्रकोपमा परेको र अहिले कैयौँ नेपाली प्राकृतिक विपत्तिको चपेटामा परेको उल्लेख गर्दै मिलनले विपत्तिको कारण फरक भए पनि पीडा एउटै हुने बताउनुभएको छ—घर गुमाउनुको पीडा, आफ्ना मान्छे गुमाउनुको पीडा र फेरि जीवन कसरी सुरु गर्ने भन्ने अनिश्चितताको पीडा।
पीडाबीच प्रेरणाको उदाहरण
आफ्नै घर पुनर्निर्माण हुन नसकेको अवस्थामा पनि ५० लाख रुपैयाँ सहयोग गर्नु थापा परिवारको आर्थिक सहयोग मात्र होइन, मानवीय संवेदनाको उदाहरणसमेत बनेको छ। आफू पीडित हुँदाहुँदै अर्को पीडितको साथमा उभिन सक्नुले संकटका बेला सहयोगको अर्थ कति ठूलो हुन्छ भन्ने सन्देश दिएको छ। मिलनले विपत्तिमा परेका परिवारलाई आफ्नो क्षमताले भ्याएसम्म साथ दिन अन्य व्यक्ति, व्यवसायी तथा संघसंस्थालाई समेत आग्रह गर्नुभएको छ। उहाँको सन्देश छ—मानिसले धेरै कुरा गुमाउन सक्छ, तर आशा र हिम्मत गुमाउनु हुँदैन।
‘हामी नेपाली हौँ। हामीले गुमाउन सक्छौँ, तर फेरि निर्माण गर्न छोड्दैनौँ,’ उहाँले लेख्नुभएको छ, ‘अँध्यारो रातपछि फेरि बिहान आउँछ।’ आफ्नो घर खरानी भएको एक वर्षको सम्झनामा मिलनको मनमा पीडा अझै ताजा छ। राज्यसँगको प्रश्न पनि उस्तै छ—घटनाको जिम्मेवारी कसले लिने र पीडितले न्याय तथा क्षतिपूर्ति कहिले पाउने । तर त्यही पीडाबीच उहाँ र ध्रुवले रोजेको बाटो भने फरक छ। आफ्नै घाउमा मल्हम लगाउने क्रममा अरूको घाउमा पनि हात राख्ने। आफ्नो घरको पुनर्निर्माण अधुरै भए पनि भोटेकोशीका बाढीपीडितको घरबार र जीवन पुनःनिर्माणका लागि ५० लाखको साथ बोकेर त्रिशूली पुग्नुले थापा परिवारले एउटा बलियो सन्देश दिएको छ ।




