पब्लिक फोरकेले प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता गर्ने

-


     पोखरा क्लिक     
     भाद्र ९ गते २०८३ मा प्रकाशित


भाद्र,९, पोखरा,

बार्दली मिडिया प्रा.लि. द्धारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा दशौँ संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । हरितालिका तीजको अवसर पारेर कृषि र कृषकका सम्भावना, महिला कृषकलाई उद्यम तथा पर्यटन का लागि प्रेरित गर्दै उनिहरुको आत्मसम्मान र संघर्षका कथालाई मौलिक तीज गीतमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहबीच यही भदौ २२ गते सोमबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा ग्रान्ड फिनाले हुने कार्यक्रम संयोजक घनश्याम पाण्डेले जानकारी दिए। प्रतियोगिता गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा सञ्चालन हुनेछ। जिल््लास्थित कृषि विकास कार्यलयको समन्वयमा जिल्ला–जिल्लाबाट समूह छनोट गरी अन्तिम प्रतिस्पर्धाका लागि पोखरा ल्याइने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न जिल्लाका प्रतिस्पर्धी समूहले मौलिक कृषि तीज गीत प्रस्तुत गर्नेछन् । कार्यक्रमको सांस्कृतिक गरिमा कायम राख्न वरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुली, खुमन अधिकारी र शान्ता रानी परियारको प्रस्तुति रहनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ३३ हजार ३ सय ३३ रुपैयाँ, २२ हजार २ सय २२ रुपैयाँ र ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट नृत्य, भेषभूषा, शब्द र विषयवस्तुका लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

पब्लिक फोरके टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले कृषि, उद्यम र पर्यटनमा नेपाली महिलाहरुको महत्वपूर्ण योगदान रहेको तथा उनीहरुको कर्मको सम्मानमा पनि कार्यक्रम फलदायी हुने बताए । उनका अनुसार मौलिक तीज गीतको माध्यमबाट कृषिसम्बन्धी ज्ञान, प्रविधि र सन्देशलाई आमजनतासम्म पु¥याउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ । कार्यक्रमस्थलमा उक्त दिन रैथाने बालीको प्रदर्शनीसँगै विभिन्न स्टलहरू समेत रहनेछन् । कृषि, संस्कृति र महिला सशक्तीकरणलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा किसान, कृषि विज्ञ, सरोकारवाला तथा कृषि पर्यटन क्षेत्रमा आबद्ध सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । प्रवेश निशुल्क रहेको कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनबाट हुनेछ ।