कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको पहुँच बढाउन जनप्रतिनिधि र कृषकसँग अन्तरक्रिया

-


     पोखरा क्लिक     
     श्रावण २९ गते २०८३ मा प्रकाशित


स्याङ्जा, श्रावण २९,

कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको आवश्यकता, महत्व र बीमा दाबी भुक्तानी प्रक्रियाबारे स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा कृषकलाई जानकारी गराउने उद्देश्यले स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको आयोजना तथा अर्जुनचौपारी गाउँपालिकाको सहयोगमा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निजीवन बीमाअन्तर्गत सम्पत्ति बीमा, मोटर बीमा, हवाई बीमा, पशुपन्छी तथा जडीबुटी बीमालगायत विभिन्न प्रकारका बीमाको आवश्यकता, महत्व, जोखिम न्यूनीकरण तथा दाबी भुक्तानी प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौड्यालले बीमाले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य जोखिमबाट हुने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कृषकलाई बीमाको दायरामा ल्याउन स्थानीय तह, बीमा कम्पनी तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमकी प्रमुख अतिथि अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङले गाउँपालिका र बीमा कम्पनीबीच सहकार्य गरी स्थानीय कृषकलाई बीमाप्रति प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषि तथा पशुपन्छी क्षेत्रमा हुने सम्भावित जोखिमबाट कृषकलाई सुरक्षित बनाउन बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलराज गैरे, कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख अजय अधिकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका प्रमुख डा. रूपेश श्रेष्ठ, कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख प्रकाश वास्ताकोटी, कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ नारायणप्रसाद पौडेललगायत विभिन्न वडाका अध्यक्ष तथा स्थानीय सरोकारवालाको उपस्थिति थियो। कार्यक्रममा सहभागी कृषि तथा पशु सेवा क्षेत्रका विज्ञ एवं अतिथिहरूले सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी बीमामा उपलब्ध गराउँदै आएको अनुदानको अधिकतम सदुपयोग गर्न कृषकलाई आग्रह गर्नुभयो। उहाँहरूले बीमालाई कृषकको आर्थिक सुरक्षासँग जोड्दै उत्पादनमा हुने जोखिम कम गर्न बीमा अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो।

अन्तरक्रियाका क्रममा कृषक तथा स्थानीय प्रतिनिधिहरूले बीमा गर्दा आवश्यक पर्ने प्रक्रिया, बीमा दाबी भुक्तानी, अनुदानको व्यवस्था तथा क्षति भएपछि दाबी प्राप्त गर्ने प्रक्रियालगायत विषयमा जिज्ञासा राखेका थिए। बीमा कम्पनीका प्रतिनिधिहरूले सहभागीका प्रश्न तथा जिज्ञासाको सम्बोधन गर्दै बीमा सेवामा सहज पहुँच र प्रभावकारी दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको बताएका थिए।



This will close in 20 seconds