कोभिडपछि कण्डम वितरणमा तीव्र गिरावट, तीन वर्षमै गण्डकीमा ६ लाख ६४ हजारले घट्यो

-


     पोखरा क्लिक     
     असार १५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १५, असार,

कोभिड–१९ महामारीपछि नेपालमा गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूको सहयोग घट्दै जाँदा गण्डकी प्रदेशमा निःशुल्क कण्डम वितरणमा उल्लेख्य कमी आएको छ । गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, एएचएफको संयुक्त आज (सोमबार) पोखरामा आयोजित पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखराका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यौलाले बताउनु भयो ।

कोभिडपछि विकास साझेदार संस्थाहरूको सहयोग घटेकाले कण्डम खरिद तथा वितरण प्रभावित भएको उहाँले जनाउनु भयो । केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा गण्डकी प्रदेशका ११ जिल्लामा २३ लाख ९७ हजार ६९८ वटा कण्डम वितरण गरिएको थियो । यो संख्या २०८१÷८२ मा घटेर २२ लाख ६४ हजार १२३ मा झरेको छ भने चालु आर्थिक वर्ष २०८२÷८३ को वैशाखसम्म १७ लाख ३३ हजार २५९ वटा वितरण भएको बस्यौलाले जनाउनु भयो । तीन आर्थिक वर्षको तुलना गर्दा कण्डम वितरण कबिर साँढे ६ लाख वटा कण्डम वितरण घटेको देखिन्छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी कण्डम कास्कीमा वितरण हुने गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा कास्कीमा ५ लाख ११ हजार ७७८ वटा वितरण भएकामा २०८२÷८३ मा यो संख्या घटेर ४ लाख ११ हजार ३९ मा पुगेको छ । गोरखा, बागलुङ, तनहुँ, लमजुङ, स्याङ्जा, म्याग्दी, पर्वत, नवलपरासी (पूर्व), मुस्ताङ र मनाङमा पनि वितरण निरन्तर ओरालो लागेको तथ्यांकले देखाएको छ । सबै भन्दा थोरै मनाङमा चालु बर्षको वैशाखसम्म ९ हजार ५ सय ६० वटा कण्डम वितरण गरिएको छ । यो तथ्याङक सरकारी स्वास्थ्य सेवा केन्द्र्र वा वडा कार्यालयहरुबाट वितरण भए पनि यसको नीजि क्षेत्रबाट समेत उत्तिकै रुपमा वितरण हुने गरेको दाबी गरिएको छ ।

क्षयरोग तथा कुष्ठ अधिकृत बस्यौलाका अनुसार कण्डम परिवार नियोजनको साधन मात्र नभई एचआईभी तथा अन्य यौनजन्य संक्रमण (एसटीआई) बाट जोगाउने प्रभावकारी माध्यमको रुपमा प्रयोग हुने गरेको छ । कण्डम वितरणमा आएको कमीले सुरक्षित यौन व्यवहार प्रवद्र्धनका प्रयासमा चुनौती थपिएको उहाँको भनाइ छ । कण्डमको नियमित र सही प्रयोगले अनिच्छित गर्भधारण रोक्नुका साथै एचआईभी लगायत यौनजन्य संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने फिजिसियन डा. राजेन्द्र पौडेलले बताउनु भयो । कण्डमको सहज उपलब्धता सुनिश्चित गर्न सरकार र विकास साझेदारको लगानी आवश्यक रहेको उहाँले बताउनु भयो । एएचएफका कन्ट्री म्यानेजर दिव्याराज जोशीले सरकारले उपलब्ध गराएको कण्डम सहि र लक्षित समुह सम्म पुग्नुपर्नेमा जोड दिनुभयो । एड्स हेल्थ केयर फाउण्डेसनका कार्यक्रम संयोजक डा.गंगा ढकालले एचआईभि शंक्रमितहरुलाई नियमित रुपमा एआरटि सेवा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । पोखराका अग्रज पत्रकार श्यामनाथ कुवंरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । तष्विर एआई जेनेरेटेड