
दीननाथ बराल,
पोखरा, २६ मंसिर,
पोखरामा धेरै मौरी पालन गर्ने कृर्षक सम्मानबाट यस बर्ष पोखरा ३३ का गोविन्द चापागाई नगद सहित सम्मान गरिएको छ । पोखरा १६ बाटुलेचौरमा शुक्रबार आयोजना भएको मौरी तथा मह मेला–२०८२ को अवसरमा आयोजना भएको उक्त अवसरमा एग्रो फर्मका संचालक चापागाईलाई नगद सहित सम्मान गरिएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिम्सिना, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले २ सय घार मौरी पालन गर्नु भएका चापागाई नगद १० हजार सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । त्यसै गरी प्रतियोगितामा पोखरा ३१ का बेगनास मौरी उद्योगका संचालक सुर्य प्रसाद लामिछानेलाई सम्मान गरिएको छ भने पोखरा २३ का एड्रिन मौरी फर्मका संचालक टंक प्रसाद पराजुलीलाई सम्मान गरिएको हो । प्रतियोगितामा दोश्रो हुनेलाई ७ हजार र तेश्रो हुनेलाई भने ५ हजार प्रदान गरिएको छ ।
त्यसै गरी मह काड्ने प्रतियोगितामा पोखरा ३१ का सुर्य प्रसाद लामिछाने प्रथम हुनु भएको छ । पोखरा २३ का पन्चासे मौरी फर्मका संचालक जीवनाथ लामिछाने दोश्रो र पोखरा २० का वडा स्तरिय कृसषि संजालका हरि प्रसाद पौडेल तेश्रो हुनु भयो । विजेता, उपविजेता र तेश्रो हुनेलाई पुरस्कार स्वरुप क्रमशः ३, २ र १ लिटर मह पुरस्कार प्रदान गरिएको थियो ।त्यसै गरी वक्तृत्वकला प्रतियोगितामा बेगनास मौरी उद्योगका संचालक सुर्य प्रसाद लामिछाने प्रथम हुनु भएको छ । त्यसै गरी पन्चासे पौरीपालन फर्मका जीवनाथ लामिछाने दोश्रो र पोखरा १६ का वडा स्तरिय कृषि संजालका लक्ष्मी देवकोटा तेश्रो हुनु भयो । विपजेतालाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई २ हजार प्राप्त गर्नुभयो ।
पोखरामा वार्षिक ९० टन मह उत्पादन हुने गरेकोले अब यहाँ अझ व्यवसायीक मौरी पालन गर्न प्रोत्साहन गर्न उक्त मेला आयोजना गरिएको पोखराका मेयर आचार्यले बताउनु भयो । यहाँको महको माग अत्यधिक रहेको बताउदै उहाँले गुणस्तरिय र निकै स्वादिष्ट हुने दाबी गर्नुभयो । “पोखरा र आसपासका क्षेत्रमा मुख्यतः सेराना मह उत्पादन हुन्छ भने तराई तथा अन्य क्षेत्रबाट मेलिफेरा मह पोखरामा भित्रिने गरेको छ,” उहाँले जनाउनु भयो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जाल–१६ को संयुक्त आयोजनामा उक्त मेला अपेक्षा गरे भन्दा बढी सफल भएको कडरियाले बताउनु भयो । मौरीपालन व्यवसायलाई प्रवद्र्धन तथा स्थानीय महको प्रचार–प्रसार गर्ने उद्देश्य सहित पोखरा–१६ स्थित महेन्द्रगुफा परिसरमा उक्त मेला गरिएको उहाँले जनाउनु भयो ।
पोखरा महानगरले मौरीपालनलाई प्रोत्साहन गर्न महको समर्थन मूल्य समेत तोकेको छ । स्थानीय मह किसानले प्रतिकिलो १ हजार देखि १ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएका छन्। माग उच्च भएकाले अहिले समर्थन मूल्य (८२५ रुपैयाँ प्रतिकिलो) दिने अवस्था नरहेको महाशाखा प्रमुख कडरियाले बताउनु भयो । मेलामा पोखराका वडाहरुका मौरीपालक किसान सहभागी हुनु भएको वडा स्तरीय कृषि सञ्जाल–१६ का अध्यक्ष जितबहादुर बस्नेतले बताउनु भयो । महानगरले वडा नं. १६ लाई मौरी पकेट क्षेत्रका रूपमा घोषणा गरिसकेको छ ।




