
पोखरा,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट सफल युवा पर्यटन उद्यमी तथा समाजसेवी अर्जुन खनाल लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको छ। युवामाझ भरोसाको पात्रका रूपमा चिनिँदै आएका खनाल राप्रपाका केन्द्रीय सदस्य समेत हुन्।

टिकट प्राप्त गरेसँगै खनालले पार्टीले आफूमाथि गरेको विश्वासप्रति आभार व्यक्त गर्दै कर्तव्यबोधका साथ उम्मेदवारी स्वीकार गरेको बताएका छन्। उनले कास्की–३ का मतदाताबाट अमूल्य मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे। खनालले कास्की–३ को आर्थिक विकास र समृद्धि लाई मुख्य प्राथमिकतामा राख्दै पर्यटन र कृषि उद्यमलाई आत्मनिर्भर बनाउने स्पष्ट योजना अघि सारेका छन्। “स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै युवामैत्री रोजगारी सिर्जना गर्ने रणनीतिक योजना ल्याउनेछु,” खनालले बताए। पर्यटन क्षेत्रमा आफ्नो अनुभवलाई नीतिगत सुधार र उद्यमशीलता प्रवर्द्धनमा प्रयोग गर्ने उनको प्रतिबद्धता छ।
यसैबीच, राप्रपाले कास्की क्षेत्र नम्बर १ बाट बाबुराम थापा र कास्की–२ बाट हेमजंग गुरुङ लाई उम्मेदवार बनाएको छ। थापा पार्टीका क्षेत्रीय अध्यक्ष हुन् भने गुरुङ केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन्। उम्मेदवार खनालले मंगलबार आफ्ना समर्थक र पार्टी नेताहरूको टोलीसहित तामझामका साथ उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। राप्रपाले कास्कीमा युवामुखी र विकासकेन्द्रित उम्मेदवार अघि सारेर चुनावी माहोल थप सशक्त बनाउने अपेक्षा गरेको छ।





