
दीननाथ बराल,
पोखरा ५, माघ,
गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले कास्की क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
रास्वपाले कास्की क्षेत्र नम्बर १ मा गनेस पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल २०७९ सालको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा ‘अटेरी उम्मेदवार’का रूपमा लौरो चुनाव चिह्नबाट उम्मेदवार बनेका थिए । केही समयअघि मात्रै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै रास्वपा प्रवेश गरेका पौडेललाई पार्टीले प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको हो । पोखरा–१४ भोटेचौतारा घर भएका पौडेल पेशाले लेखक हुन् । उनले उपन्याससहित अंग्रेजी र नेपाली भाषामा कथा तथा कविताहरू लेख्दै आएका छन् ।
यसअघि रास्वपाले कास्की क्षेत्र नम्बर २ मा उत्तम पौडेल र क्षेत्र नम्बर ३ मा यदू अधिकारीलाई उम्मेदवार बनाइसकेको छ । कास्की–२ का उम्मेदवार उत्तम पौडेल पूर्व पत्रकार हुन् भने कास्की–३ का उम्मेदवार यदू अधिकारी रास्वपा कास्कीका संयोजक तथा पोखराका व्यवसायी हुन् । यससँगै रास्वपाले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार तय गरेको छ ।





