
दीननाथ बराल,
पोखरा ३, माघ,
म्याग्दीको रमणीय रुमा गाउँमा चौथो रुमा सांगीतिक मेला आउँदो चैत महिनाको तेश्रो साता हुने भएको छ । शिक्षा र पर्यटनलाई सँगै अघि बढाउँदै गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित चैत २० र २१ गते उक्त मेला आयोजना हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
लालीगुराँस युवा क्लबको आयोजनामा हुन लागेको यस मेलाले लोपोन्मुख मौलिक संस्कृति संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । यस मेलामा स्वदेशी मात्र नभई विदेशी सहयोग समेत जुट्ने भएको क्लवले पोखराक्लिकलाई जनाएको छ । मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले गाउँको विकासका लागि यो मेला महत्वपूर्ण माध्यम बनेको बताउनुभयो। अन्य गाउँको तुलनामा रुमा गाउँमा बाक्लो बस्ती रहे पनि राज्यको ध्यान नपुगे बसाइँसराइका कारण गाउँ रित्तिने खतरा बढ्दै गएको उहाँको चिन्ता छ। वडाध्यक्ष बुढाथोकीले रुमा गाउँमा पाइने ढुंगा नेपालकै उत्कृष्ट रहेको दाबी गर्दै टायलका रूपमा प्रयोग गरिने ढुंगाका छपनिहरू निकै आकर्षक रहेको बताउनुभयो। घोरेपानीभन्दा अझ धेरै दृश्यावलोकन गर्न सकिने क्षमता हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा रुमा गाउँ ओझेलमा परेको उहाँको गुनासो छ।

प्रकृतिले अत्यन्तै सुन्दर बनाएको रुमा गाउँको कला, संस्कृति र पहिचान जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै वरिष्ठ सल्लाहकार डा. निरञ्जन कोइरालाले बताउनु भयो । ढुंगाले छाएका परम्परागत घर, मौलिक पञ्चेबाजा तथा विभिन्न जातजातिको सांस्कृतिक पहिचान संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। क्लवका उपाध्यक्ष तथा म्यानेजर किरण घर्तीले यो कार्यक्रमको मुख्य लक्ष्य गाउँभित्रै स्रोत भित्र्याउने रहेको बताउनुभयो। शिक्षा सुधार, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनामा मेला उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम संयोजक सुरेश पुनले शिक्षा र पर्यटन क्षेत्रको प्रवर्द्धनमा रुमा सांगीतिक मेला कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो। राजनीतिक पहुँच र स्रोतको अभावका कारण विकासमा पछि परेको गाउँमा यस मेलाबाट संकलित केही रकम शिक्षा सुधार र पर्यटन प्रवर्द्धनमा खर्चिँदै आएको उहाँले जानकारी दिनुभयो। साथै, उक्त क्षेत्र हुँदै ढोरपाटनसम्म पुगिने पदमार्ग समेत पर्यटनका लागि महत्वपूर्ण सम्भावना भएको उहाँको भनाइ छ। म्याग्दी बजारबाट करिब ३ घण्टाको सवारी यात्रामा पुग्न सकिने रुमा गाउँ प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र सांगीतिक पहिचानका कारण तपाईंका लागि पनि नयाँ गन्तव्य बन्न सक्ने आयोजकहरूको विश्वास छ।





