आहा रारा पोखरा गोल्ड कपको २५ औं संस्करण फ्लडलाइटमा साँझ खेल हुने

-


     पोखरा क्लिक     
     माघ २ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २, माघ,

१० बर्षको द्धन्द, कोभिड र आर्थिक मन्दिका बाबजुत पनि निरन्तर रुपमा संचालन हुदै आएको नेपालकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करण (रजत जयन्ती) को अवसरमा यसपाली आयोजक सहारा क्लवले साँझमा दर्शक आकर्षण गर्न फ्लडलाइटको व्यवस्था गर्ने भएको छ ।

उक्त गोल्ड कपको रजत जयन्तीलाई यस बर्ष थप आकर्षण गर्न फ्लडलाइडको ब्यबस्था हुने गृहकार्य गरीएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो । साझ हुने उक्त प्रतियोगितामा धेरै जनाले आफ्नो काम सकेर साँझ पनि रंगशालामा आउन सक्ने संयोजक गुरुङले जनाउनु भयो । उहाँले भन्नुभयो“रजत जयन्तीको अवसरमा पोखरामा पहिलो पटक अस्थायी फ्लडलाइट जडान गरी रात्रिकालीन फुटबल आयोजना गर्ने हामी तयारीमा छौं, यसपाली पोखरेली दर्शकलाई फरक आकर्षण यही हुने छ । ”

पोखरा रंगशालाको फुटबल मैदानमा चारै कुनामा करिब ३५ फिट उचाइका अस्थायी पोल राखेर फ्लडलाइट जडान गरीने भएको छ भने प्रत्येक पोलमा १२ देखि १६ वटा शक्तिशाली लाइट जडान गर्ने भएको सहारा क्लवले जनाएको छ । फ्लडलाइट, स्ट्यान्ड, तार, जेनेरेटर लगायत सम्पूर्ण संरचनामा कबिर २० देखि २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । यसपालि माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी चर्चीत क्लव सहभागी गराउने तयारी पनि भइरहेको छ । फ्लडलाइटको व्यवस्थाले खेलको स्तर, दर्शकको उपस्थिति र प्रतियोगिताको आकर्षण अझै बढ्ने आयोजकको विश्वास छ ।

२०५८ सालदेखि निरन्तर आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्डकप मोफसलकै प्रतिष्ठित प्रतियोगिता हो । सहारा फुटवल एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालकहरु रहेको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो । उक्त गोल्ड कपको बचत रकम एकेडेमीमा क्लवले खर्चिदै आएको छ । प्रतियोगिताको बिजेताले १२ लाख उपबिजेताले भने ६ लाख साथमा ट्रफी प्राप्त गर्ने भएका छन् । उक्त प्रतियोगिता लक्षित हाल पोखरा रंगशालाको फुटवल मैदानमा पानी हालेर दुवो हरियो पार्ने काम अघि बढाईएको छ ।