
पोखरा, ३०, पुस,
पोखरा–२२ ठुलिबिडीमा रहेको परिवर्तन युवा क्लबको आयोजनामा दोस्रो फाइभ–ए–साइड फुटबल प्रतियोगिता त्रिभुवन स्मृति कप २०८२ आउँदो फागुन ७ देखि ९ गतेसम्म सिम्लेपाखा खेलमैदानमा हुने भएको छ। यस प्रतियोगितालाई पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले साथ दिने भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व. त्रिभुवन पौडेलको स्मृतिमा आयोजना हुँदै आएको उक्त प्रतियोगिताले खेलकुदसँगै स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वलाई जोड्ने लक्ष्य लिएको छ। २०७९ माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको योगदानलाई खेलकुदमार्फत स्मरण गरिने आयोजकले जनाएको छ। क्लबका अध्यक्ष सुदिप बरालका अनुसार गत वर्षको पहिलो संस्करण सफल भएपछि यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको छ। प्रतियोगिताका विजेताले नगद ८० हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ४० हजार ५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि विशेष सम्मान गरिनेछ।
यस वर्ष प्रतियोगितासँगै स्व. त्रिभुवन पौडेलको नाममा समाजमा सकारात्मक योगदान पु¥याइरहेका युवालाई प्रदान गरिने ‘विशेष युवा सम्मान’ पनि समावेश गरिएको छ। यस सम्मानमार्फत सक्रिय, प्रेरणादायी र जिम्मेवार युवालाई पहिचान र प्रोत्साहन गर्ने अपेक्षा आयोजकको छ। खेलकुदसँगै स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता अवधिभर पोखरा अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा रक्तचाप, रगतमा चिनी जाँच, ईसीजी, सामान्य स्वास्थ्य परीक्षण, इन्जेक्सन, ड्रेसिङ तथा साना उपचार सेवा उपलब्ध हुनेछन्। साथै वृद्ध, अशक्त तथा अपाङ्ग व्यक्तिहरू, शल्यक्रिया, सामान्य स्वास्थ्य परीक्षण, रगत तथा पिसाब परीक्षण, बिरामी भर्ना लगायत सेवामा विशेष छुटको व्यवस्था पनि गरिएको छ। २० देखि ५० प्रतिशत छुटको व्यबस्था गरिएको हस्पिटलले पोखराक्लिकलाई जनाएको छ ।
ठुलिबिडी मात्र नभई समग्र पोखरा क्षेत्रमै खेलकुद र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने उद्देश्यले कार्यक्रमको आर्थिक व्यवस्थापन, प्रचार–प्रसार र व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन भइसकेको अध्यक्ष बरालले जानकारी दिनुभयो। प्रतियोगिताले स्थानीय युवामा फुटबलप्रति उत्साह बढाउनुका साथै समुदायमा एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास आयोजकले लिएको छ।




