कोशी प्रदेश गण्डकीको ‘पर्यटक संस्कार’ सिक्न पोखरामा, ९ बुँदे समझदारी, दुबै प्रदेशमा पर्यटन विस्तार हुने विश्वास (भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष २८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २८ पुस,

पर्यटनको राजधानीका रूपमा स्थापित गण्डकी प्रदेशबाट सिकाइ र अनुभव आदान–प्रदान गर्दै कोशी प्रदेशले आफ्नो पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित पोखरामा गण्डकी प्रदेशसँग ९ बुँदे समझदारी गरेको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रभावकारी बनाउन गरिएको यस अन्तरप्रदेश सहकार्यबाट दुबै प्रदेशमा पर्यटन प्रवद्र्धन तीव्र हुने विश्वास गरिएको छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीको नेतृत्वमा पोखरा आएको टोलीलाई गण्डकी प्रदेशको राजधानी पोखरामा स्वागत गर्दै सोमबार बृहत् अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो । सोही अवसरमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा कोशी प्रदेशका तर्फबाट प्रदेश सचिव डा.इन्द्रप्रसाद सापकोटा र गण्डकी प्रदेशका तर्फबाट उद्योग तथा पर्यटन मन्त्रालयका नि.प्रदेश सचिव टीकाराम पौडेलले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर समारोहमा दुवै प्रदेशका पर्यटन मन्त्री, सचिव तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । समझदारी अनुसार पोखरा–विराटनगर सिधा हवाई सेवा र पर्यटकीय स्तरका बस सेवा सञ्चालनका लागि संघीय सरकारसमक्ष संयुक्त पहल गरिनेछ । यससँगै दुबै प्रदेशमा भएका पर्यटनसम्बन्धी असल अभ्यासको आदान–प्रदान, प्रमुख पर्यटकीय गन्तव्यहरूको संयुक्त प्रचार–प्रसार तथा हवाई भाडासम्बन्धी विषयमा आपसी सहकार्य गरिने उल्लेख छ ।

त्यस्तै, पर्यटन पूर्वाधार विकास, पहुँच विस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई थप मजबुत बनाउने सहमति भएको छ। सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकलाई लक्षित गरी अन्तरप्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्ने तथा निजी क्षेत्रको सहभागितामा सुलभ पर्यटन प्याकेज विकास गर्ने विषयलाई पनि समझदारीमा प्राथमिकता दिइएको छ । धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राख्दै कोशी र गण्डकी प्रदेशका प्रमुख धार्मिक गन्तव्यलाई जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिनेछ। पहिलो चरणमा कोशी प्रदेशका पाथिभरा, बराहक्षेत्र र हलेसी तथा गण्डकी प्रदेशका मनकामना, मुक्तिनाथ र दामोदर कुण्डलाई समेटेर धार्मिक सर्किट निर्माण गर्ने सहमति भएको छ ।

अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्ड तथा सम्बन्धित निकायहरूमार्फत सहकार्य गर्ने, संयुक्त रूपमा पर्यटन दूत नियुक्त गर्ने र दुबै प्रदेशका होमस्टेहरूबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषय पनि समझदारीमा समावेश गरिएको छ। समझदारी कार्यान्वयनका लागि ‘गण्डकी–कोशी पर्यटन प्रवद्र्धन समन्वय समिति’ गठन गरिनेछ, जसको संयोजक दुवै प्रदेशका पर्यटन मन्त्री पालैपालो रहनेछन् । कार्यक्रममा सहभागी वक्ताहरूले अन्तरप्रदेश पर्यटन प्रवद्र्धनको पहिलो र अनिवार्य सर्त कनेक्टिभिटी भएकोमा जोड दिएका छन्। विगतमा पोखरा–भद्रपुर, पोखरा–विराटनगर तथा पोखरा–भरतपुर हवाई सेवा सञ्चालनमा रहे पनि हाल ती सेवा बन्द हुँदा एक प्रदेशबाट अर्को प्रदेश पुग्न पर्यटकलाई कठिनाइ भइरहेको पर्यटन व्यवसायीहरूको गुनासो थियो । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न दीर्घकालीन नीति र प्रदेशबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। नेपालमा पर्यटनको योगदान हाल जीडीपीमा करिब ६.५ प्रतिशत रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रको सहकार्यमा यसलाई दुई अङ्कमा पु¥याउन सकिने उनले बताए।

कोशी प्रदेशका मन्त्री पराजुलीले संघ सरकारले पर्यटनसम्बन्धी ऐन तथा कानुन समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। भारतसँग नाका जोडिएको कोशी प्रदेशमा भारतीय पर्यटकको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले अन्तरप्रदेश सहकार्यबाट पर्यटन विस्तार हुने विश्वास व्यक्त गरे। गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले तेस्रो मुलुकबाट आएका पर्यटक मात्र नभई भारतीय र आन्तरिक पर्यटकलाई समेत समान रूपमा पर्यटकका रूपमा मूल्यांकन गर्नुपर्ने बताए। कनेक्टिभिटी नहुँदासम्म अन्तरप्रदेश पर्यटन प्रवद्र्धन सम्भव नहुने उल्लेख गर्दै उनले तत्काल अन्तरप्रदेशस्तरीय हवाई उडान सुरु गर्न जोड दिए।

नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले कृषिदेखि संस्कृति, पदयात्रा, होमस्टे सहितका आतिथ्यसँग जोडिएको पर्यटनबाट दुबै प्रदेशका जनताले लाभ लिन सक्ने दाबी गरे । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव महराम ढकालले प्रदेशमा ३ सय ३४ होमस्टे रहेको बताउदै प्रदेश सरकारले ठुलो लगानी गरेको जनाए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका लागि राष्ट्रिय स्तरमै स्पष्ट र ठोस नीति आवश्यक रहेको बताए । नेपाल पर्यटन बोर्डका पूर्व केन्द्रीय सदस्य वासुदेव त्रिपाठीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे निर्माण प्रक्रियामा त्रुटि भएको भन्ने गलत भाष्य फैलिन नदिन आग्रह गरे । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मणप्रसाद सुवेदीले अब संख्यात्मक पर्यटक भन्दा गुणात्मक, खर्च गर्न सक्ने र लामो बसाइ अवधि रहने पर्यटक भित्र्याउने रणनीतिमा जानुपर्नेमा जोड दिए । पोखरा–भरतपुर, पोखरा–भद्रपुर तथा पोखरा–विराटनगर जस्ता हवाई सेवा सञ्चालनमा रहे पनि हाल ती सेवा अवरुद्ध हुँदा एक प्रदेशबाट अर्को प्रदेश हवाई मार्ग हुँदै यात्रा गर्न पर्यटकलाई कठिनाइ भएको नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरिराम अधिकारीले बताए ।

यसैगरी टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले २१ दिन लाग्ने ट्रेकिङ पदमार्गहरू अहिले एक सातामै सीमित हुँदै गएको गुनासो गर्दै पदमार्ग संरक्षण र पर्यटक व्यवस्थापनमा ध्यान नदिए नेपालको पर्यटन भविष्य नै अन्योलमा पर्न सक्ने चिन्त्ता व्यक्त गरे । कार्यक्रममा कोशी प्रदेशको चियाले छुट्टै पहिचान बनाइसकेको उल्लेख गर्दै चिया व्यवसायी तथा मुद्रा सटही व्यवसायी सङ्घका अध्यक्ष रूपकराज मिश्रले कोशीको चियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्नुपर्ने सुझाव दिए । पोखराका आर्थिक पत्रकार दीननाथ बरालले पर्यटन प्रबद्र्धनसंगै पर्यटकहरुको तथ्याङक अनिवार्य रुपमा अध्यावधिक गर्न सुझाव दिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले कोशी र गण्डकी प्रदेशबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई र सडक मार्गमा पर्यटकीय स्तरका बस सेवा सञ्चालन गर्न समेत जोड दिएको कोशी प्रदेशको पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कृष्ण प्रसाद न्यौपानले पोखराक्लिकलाई बताए । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश तथा कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई कोशी र गण्डकी प्रदेशबीचको पर्यटन सहकार्यको नयाँ अध्यायका रूपमा हेरिएको छ ।