
दीननाथ बराल,
पोखरा, २७ पुस,
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का केन्द्रिय अध्यक्ष सागर पाण्डेले नेपालका प्रमुख पर्यटकीय पदमार्गहरू गम्भीर जोखिममा रहेको बताउनु भएको छ । टान गण्डकीको ३२ औं बार्षिक साधारण सभाको आइतबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष पाण्डेले समयमै पदमार्गहरूको अडिट, संरक्षण र अद्यावधिक गर्न नसकिए पदमार्गबाट हुने लाभ स्थानीय समुदाय, पर्यटन व्यवसायी र स्थानीय सरकार समेत प्रभावित हुने बताउनु भएको हो ।
अध्यक्ष पाण्डेले नेपालका धेरै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहेका पदमार्गहरू विभिन्न कारणले मासिँदै जाँदा यसले समग्र स्थानीय पर्यटन व्यवसाय र स्थानीय सरकारलाई प्रत्यक्ष असर पारेको बताउनुभयो। उहाँले पाँच वर्षअघि करिब पाँच लाख विदेशी पर्यटक भित्र्याइएको र ३० वर्षपछि पनि पर्यटक संख्या १०÷११ लाखमै सीमित हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै वर्तमान अवस्थाबाट पर्यटनमार्फत पर्याप्त आर्थिक लाभ लिन सकिने कि नसकिने गम्भीर समीक्षा आवश्यक भएको बताउनुभयो।
अध्यक्ष पाण्डेले पर्यटनको दीगो विकासका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पर्यटन व्यवसायहरू अहिले एक्ला–एक्लै अघि बढ्दा अपेक्षित प्रगति र आर्थिक लाभ लिन नसकिएको गुनासो गर्दै अब साझा उद्देश्यका साथ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। नेपाल पर्यटन बोर्डलाई पुनःसंरचनामा लैजानुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष पाण्डेले पर्यटन बोर्डमा तीनवटा मुख्य सुधार आवश्यक रहेको धारणा राख्नुभयो। प्रत्येक प्रदेशमा पर्यटन बोर्डको कार्यालय स्थापना गरी स्थानीय स्रोत–साधनका आधारमा प्रवर्धनका काम केन्द्रित गर्नुपर्ने, केन्द्रीय तहमा नीति निर्माण तथा बहसलाई सुदृढ गर्नुपर्ने र विदेशी पर्यटक भित्र्याउन विभिन्न देशसँग समन्वयात्मक भूमिका बलियो बनाउनुपर्ने उहाँको भनाइ छ ।
पर्यटकीय पदमार्गहरूको नियमित अडिट र पुनर्ताजकी गर्न नसकिए ती पदमार्ग इतिहासमा मात्र सीमित हुने चेतावनी दिँदै अध्यक्ष पाण्डेले अहिलेको अवस्थामा धेरै पर्यटन व्यवसाय १० वर्षभन्दा बढी टिक्न नसक्ने जोखिम रहेको उल्लेख गर्नुभयो। त्यसैले सन्तुलित विकास, वातावरणीय मूल्याङ्कन र पर्यावरण संरक्षणलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने उहाँको जोड थियो।तथ्याङ्क सङ्कलनको अभावका कारण कुन क्षेत्रमा, कुन सिजनमा र कुन देशका कति पर्यटक आउँछन् भन्ने स्पष्ट जानकारी नहुँदा नीति र योजना बनाउन समस्या भइरहेको उहाँको गुनासो छ । यसका लागि अब नेपाली पर्यटकहरूका लागि पनि न्यूनतम शुल्कसहित टिम्स कार्ड अनिवार्य गर्नुपर्ने धारणा उहाँले राख्नुभयो। अध्यक्ष पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारी निकाय, निजी क्षेत्र, स्थानीय सरकार र पर्यटन बोर्डबीच सहकार्य अनिवार्य रहेको बताउनुभयो। नेपाल पर्यटन बोर्डले अघिल्लो वर्षको तथ्याङ्कका आधारमा कुन महिनामा कुन देश वा क्षेत्रबाट पर्यटक आगमन घटेको छ भन्ने विश्लेषण गरी रणनीतिक योजना बनाउनुपर्ने र सोहीअनुसार आकर्षक प्याकेज सार्वजनिक गरी प्रवर्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सो अवसरमा टान गण्डकीले पोखराका तीन जना पत्रकार सुमन ढुङ्गाना, बिमल तिवारी र सागर ढकाललाई जनही १०\१० हजार रुपैयाँसहित सम्मान गरेको छ । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, टानका पूर्व अध्यक्ष डम्मर बहादुर केसी, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का अध्यक्ष ममता न्यौपाने, टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदी, सचिव गोपाल कृष्ण संग्रौला लगायतले पर्यटनका बारेमा चर्चा गर्नु भएको थियो ।





