
दीननाथ बराल,
पोखरा १३, पुस,
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरामा अन्तराष्ट्रिय उडान गर्ने बिषय अहिलेको सरकारले भन्दा नयाँ आउने सरकारले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । रेवान पोखराले सुरु गरेको २७ औँ पोखरा सडक महोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलनबाट ६ महिना भित्र चुनाव गर्ने गरी स्थापना भएको सरकारबाट धेरै अपेक्षा गर्नु भन्दा आउने नयाँ सरकारले पोखरामा अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषयमा मुख्य मुद्धा बनाउनु पर्नेमा जोड दिनुभयो ।
राज्यको ठुलो लगानीमा निर्माण भएको पोखरा विमानस्थलबाट अब उद्धेश्य अनुसार अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषय आउने सरकारले प्रथामिकतामा राख्नुपर्ने उहाँको जोड थियो । मन्त्री घिसिङले भू–राजनीतिक संवेदनशीलताका चर्चा भए पनि यसलाई मुर्त रुप दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनैपर्ने धारणा राख्दै आगामी सरकारले यसलाई एजेन्डा बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । जेनजी आन्दोलनको जगमा निर्वाचन गराउने उद्धेश्यले आएको सरकारले धेरै र ठुला कामहरु भन्दा पनि केही नीतिगत सुधार गर्दै जनतामा आशा र भरोसा दिदै निर्वाचनमा केन्द्रित भएको उहाँले जनाउनु भयो ।
पोखरा–मुग्लिङ सडकखण्डका अवरोध हटाइ काम तीव्र बनाइएको जानकारी दिंदै उहाँले पोखरा–काठमाडौँ र पोखरा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण भइसकेको तथा कोरला नाका जोड्ने सडकखण्ड अन्र्तगत यस वर्ष ५० किमी सडक पिच सम्झौता गरेर काम अघि बढेको बताउनु भयो । पोखरा क्षेत्रको पर्यटन सहितकोे आर्थिक विकासका लागि सरकारले विशेष प्राथमिकता दिदै काम गरिरहेको उहाँले दाबी गर्नुभयो । मन्त्री घिसिङले पोखरा पर्यटनको प्राकृतिक हब भएकाले यससँग जोडिने सडक तथा हवाई दुवै पूर्वाधारलाई सुदृढ पार्नु राज्यको उत्तरदायित्व भएको उल्लेख गर्नुभयो । पोखरामा अवस्थित विद्युत् प्रसारण लाइनलाई क्रमशः भूमिगत गर्ने कार्य अघि बढिरहेको जनाउँदै मन्त्री घिसिङले विद्युत् प्रसारणको पहुँचले दुर्गम क्षेत्रका पर्यटन सेवामा परिवर्तन ल्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “एबीसी, मर्दी हुँदै मनाङसम्म बिजुली पुगेपछि अहिले पर्यटकले एसि सहितको सेवा प्राप्त गर्न थालेका छन्, यो आर्थिक समृद्धिको आधार हो ।”
राजनीतिक परिवर्तनले मात्रै पुग्दैन, अब आर्थिक क्रान्ति चाहिन्छ,” मन्त्री घिसिङले भन्नुभयो “शासनको उज्यालो, गरिबी हटाउने उज्यालो, ऊर्जा र विकासको उज्यालो — देशलाई समृद्ध बनाउने उज्यालो अब सबै क्षेत्रमा फैलिनैपर्छ।” मन्त्री घिसिङले पोखरा–बुटवल र चितवन मार्गलाई ‘ग्रीन करिडोर’का रूपमा विकास गर्न सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै विभिन्न दाता निकायहरूको सहकार्यमा करिब ४ सय मिलियन अमेरिकी डलरको लगानी परिचालन भइरहेको जानकारी दिनुभयो। पोखरामा देखिएको जंगल जस्ता पोलका तारहरु अब सबै अण्डरग्राउण्डमा व्यबस्थापन गर्ने उहाँँले बताउनु भयो । यसको केही सुरुवात हाल भई रहेको समेत मन्त्री घिसिङले उल्लेख गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेश सरकार पर्यटन पूर्वाधार विस्तारमा जुटेको बताउदै यस अभियानमा संघिय सरकारले खासै सहयोग नगरेको गुनासो गर्नुभयो । पोखरा विमानस्थलमा सिधा अन्तरााष्ट्रिय हवाई उडान संचालनको कुटनीतिक पहल गर्न उहाँले आग्रह गर्नुभयो । पोखरा सहित गण्डकी प्रदेशको लागि सधै दिगो हुने गरी पोखरामा अन्तराष्ट्रिय उडान गरी आफ्नो नाम दिगो पार्न मन्त्री बस्यालले आग्रह गर्नुभयो । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान नियमित गर्न संघीय सरकारले चाहेमा अहिलेको स्वतन्त्र सरकारले सक्ने दाबी गर्नुभयो । उहाँले भन्नुयो “हामीलाई जियो–पोलिटिक्स थाहा छैन, तर विमानस्थल चल्नुपर्छ, यो जनता र पोखराको माग हो, दल विनाको अहिलको सरकारले चाहेमा यसलाई अघि बढाउन सक्छ । ”
रेष्टुरेन्ट तथा बार एशोसियशन नेपाल (रेवान) का अध्यक्ष सङ्घर्ष विष्टले सोलो प्याराग्लाईडिङको गन्तव्य पोखरामा संचालन गर्न नसक्दा त्यसको विकल्पमा भारतमा हाल संचालन हुदै आएको बताउनु भयो । पोखराको पर्यटन प्रबद्र्धन गर्न नेपाल एयरलायन्सबाटै यसको सुरुवात गरी अन्तराष्ट्रिय हवाई उडानको सरकारले तत्काल पहल गर्नुपर्ने उहाँले जनाउनु भयो ।खहरेदेखि अम्बोटसम्म करिब साढे तीन किलोमिटर सडक क्षेत्रमा अस्थायी ‘ओपन–फेस्टिवल स्ट्रीट’ तयार गरिएको छ, जहाँ पर्यटन प्रवद्र्धन, स्थानीय स्वाद, संगीत र संस्कृतिको संयोजन महोत्सवभरि रहने भएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारा सहित सञ्चालन भएको महोत्सवमा लोपोन्मुख सांस्कृतिक झाँकी, लोकनृत्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार, लाइभ कन्सर्ट, डुंगा दौड, डोरी तान्ने प्रतियोगिता, वेटर रेस, सडक नाटक, फोटो बुथदेखि खाजा खाने प्रतियोगितासम्म दैनिक आकर्षण रहने कार्यक्रम संयोजक बसन्त गौतमले बताउनु भयो । उद्घाटन अघि पोखराको हल्लनचोकदेखि झाँकी सहितको ¥याली निकालिएको थियो, जसमा गुरुङ, मगर, नेवार, थकाली, ब्राह्मण, क्षेत्री, थारु लगायतका समुदाय सहभागी हुनु भएको रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले बताउनु भयो । पोखरा भ्रमण बर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईले पोखरामा पर्यटनको अथाह सम्भावना भएकोले सहज कनेक्टिभिटिको पहुच पुर्याउन मन्त्री समक्ष माग गर्नुभयो । एम्बुस नम्बर हरियो प्लेटमै राख्ने ब्याबस्थापन गर्न उहाँले आग्रह गर्नुभयो ।
म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेका छन भने नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको छ । महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी समेत गरिदैछ । महोत्सव पुस १७ गतेसम्म चल्नेछ । पोखराको लेकसाइड क्षेत्र हाल दुलही झै धोजा पोतकाले सिंगारिएको छ । लेकसाईड कोमागाने पार्कमा सांगीतिक उत्सव सुरु भएको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो । एक्स नेपथ्य तीन दशकपछि गुञ्जिनेछ भने न्यू ईयर ईभ विशेष कार्यक्रमको दिन पुस १६ गते बेलुका एक्स नेपथ्यका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुती दिने भएको बताइन्छ ।





