प्रदेश स्तरिय चलचित्र बिकास बोर्ड आवश्यक छः मन्त्री थापा (भिडियो सहित), चलचित्र पत्रकार संघको अध्यक्षमा बस्याल

-


     पोखरा क्लिक     
     पौष १२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १२, पुस,

पोखरा सहित गण्डकी प्रदेशमा रहेको विशाल सांस्कृतिक विविधता, भौगोलिक सुन्दरता र चलचित्र छायांकनका अमूल्य सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउन प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठन गर्न आवश्यक भएको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले बताए ।

शनिबार पोखरामा सम्पन्न चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैटौँ अधिवेशन उद्घाटन गर्दै मन्त्री थापाले अघिल्लो कार्यकालमा सञ्चार तथा सूचना मन्त्रालयको नेतृत्व सम्हालेका बेला नै बोर्ड गठनको अभियान अघि बढाइए पनि मूर्त रुप लिन नसकिएको उल्लेख गर्नुभयो । प्रदेशमै चलचित्र विकास बोर्ड गठन गरी फिल्म–टुरिजमलाई नयाँ उचाइमा पुर्‍याउने दायित्व नयाँ नेतृत्वले पहल गर्नुपर्ने उहाँको भनाई छ ।

“चलचित्र हेर्ने संस्कृतिदेखि छायांकन कला र प्रविधिसम्म, गण्डकीसँग अपार सम्भावना छ,” मन्त्री थापाले भने, “फिल्म र पर्यटन दुईवटा छुट्टा विषय होइनन् — दुवै एक–अर्कालाई परिपूर्ण गर्ने आधार हुन्। बोर्ड गठन भएपछि चित्रिकरण स्वीकृतिदेखि प्रोत्साहन, लगानी तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनसम्मका काम सहज हुन्छन्।” उनले प्रदेशमा निर्माण–प्रदर्शन भएका फिल्महरूले विदेशी बजारसम्म गण्डकीलाई चिनाउन सफल भएको उदाहरण पेश गर्दै चलचित्र पत्रकार संघलाई सिनेमा संवादका कार्यक्रममार्फत समर्थन गर्न आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पनि दिए।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समिर वलामीले पछिल्लो समय नेपाली फिल्मले ६० करोडसम्मको आम्दानी गर्न सफल भएकाले अब पत्रकारिताले चलचित्रको भाव, कलात्मकता र सामाजिक सन्देशलाई “गहिराइमा पुगेर व्याख्या गर्ने” आवश्यकतामाथि जोड दिए। गण्डकीका प्रेस रजिस्टार बिमला भण्डारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, पूर्व अध्यक्ष अरुण गिरी लगायत वक्ताहरूले चलचित्र पत्रकारिताले फिल्म उद्योगलाई सञ्चारको मात्र सहारा होइन, समालोचनात्मक मार्गदर्शन र अभिलेखको भूमिका समेत निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे। नयाँ नेतृत्व चयनसँगै चलचित्र पत्रकार संघ कास्की पुनः सक्रिय बनेको छ भने प्रदेशमा चलचित्र विकास बोर्ड गठनको माग फेरि एक पटक सशक्त रूपमा उठेको छ।

यसैबीच, अधिवेशनले चलचित्र पत्रकार संघ नेपाल कास्कीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको संघले पोखराक्लिकलाई जनाएको छ । संघको अध्यक्षमा सन्तोष बस्याल, उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम, कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भए। प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल सदस्यमा चयन भएका छन्।

नव–निर्वाचित अध्यक्ष बस्यालको नेतृत्व चयनसँगै संघ विदेशिएका अध्यक्षका कारण केही समय नेतृत्व शून्यझैँ बनेको अवस्थाबाट पुनः सक्रियतामा फर्किएको छ। संघले अब चलचित्र सम्बन्धी अनुसन्धान, बहस, समीक्षा र प्रवर्द्धन गतिविधि विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आशिष पुरी र मिलन थापालाई मनोनयन गरिएको संघले जनाएको छ।