कम्युनिष्ट एकताले मात्रै भ्रष्टाचार र बिचौलियाको अन्त्य सम्भव ः पोखरा–२२ को सन्देशसभा, २० जना पार्टी प्रवेश

-


     पोखरा क्लिक     
     पौष १० गते २०८२ मा प्रकाशित


पोखरा, १० पुस,

“भ्रष्टचारी र बिचौलियालाई हराउन अब कम्युनिष्टहरू एक थलोमा आएका हौं,” भन्ने मूल सन्देश सहित नेपाली कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका–२२ द्वारा विहीबार पोखरा भ्यु–पोइन्टमा आयोजित सन्देशसभा सम्पन्न भएको छ । साविक समाजबादी पोखरा २२ का अध्यक्ष जगन्नाथ वास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न तहका नेताहरूले कम्युनिष्ट एकता, भ्रष्टाचार उन्मूलन र सामाजिक रूपान्तरण गर्नुपर्नमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं अग्रज नेता तुलबहादुर गुरुङले समाजमा बढ्दै गएको नकारात्मकता, ढिलासुस्ती र पैसाको आधारमा काम हुने प्रवृत्तिले जनतालाई दुःख दिएको बताए। उनले “कम्युनिष्ट विचार मात्रै भएर हुँदैन, व्यवहार र संगठनमा पनि एक हुनुपर्छ, समाजवादी विचार भएका कम्युनिष्टहरू एक भए जनतामा विश्वास सृजना हुन्छ” भन्दै विदेशिएर बस्न बाध्य नेपालीहरूलाई फर्काउन सामाजिक र आर्थिक प्रणाली सुधार अपरिहार्य हुने बताए। साविक माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री रामजी प्रसाद बराल ‘जीवन’ले देशमा रहेको भ्रष्टाचार र बिचौलियाकरण अन्त्य गर्न नसकिँदासम्म जनताको जीवनस्तर उकासिन नसक्ने बताए । उनले भने “जसको नीति, उसैको नेतृत्व आवश्यक छ, आगामी निर्वाचनले भ्रष्ट र बिचौलियालाई अन्त्य गर्ने मोड दिनुपर्छ ।” नेता केशवराज पौडेलले छरिएका कम्युनिष्ट शक्तिहरू एक भएर प्रतिक्रियावादी प्रवृत्तिविरुद्ध अगाडि बढ्नुपर्ने धारणा राखे। नेता राजु क्षेत्रीले करिब १६ वटा कम्युनिष्ट पार्टीमा विभाजित शक्ति एक नहुँदा समाजमा परिवर्तनको ऊर्जा खुम्चिएको भन्दै “अन्याय, शोषण र जातीय विभेद अन्त्य गर्ने आन्दोलन फेरि संगठित गरिने छ” भने।

प्रदेश कमिटीका उपाध्यक्ष मुक्ति पौडेलले हरेक टोल–छरछिमेकमा कम्युनिष्ट विचार प्रति उत्साह बढ्दै गएको उल्लेख गर्दै त्यो जनउत्साहलाई सङ्गठित अभियानमार्फत परिवर्तनको ऊर्जा बनाउँदै लैजानुपर्ने धारणा राखे। सोही क्रममा समाजवादी महानगर कमिटीका अध्यक्ष प्रेम थापाले एकतालाई भित्र्याएर जनभावनालाई विकास र सामाजिक न्यायतर्फ मोड्ने काममा कम्युनिष्टहरूले नेतृत्व लिनुपर्ने बताए।

नेता नारायण खड्काले कार्यक्रममा करिब २० जना कार्यकर्ता पार्टी प्रवेश गरेको जानकारी गराउँदै संगठन विस्तार मार्फत जनविश्वास बढाउनु पर्ने बताए । उनले विकास निर्माणमा कम्युनिष्टहरूको भूमिका अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै नेता नवराज बरालले “समाजमा परिवर्तन सम्भव छ भन्ने सन्देश यही सभाबाट दिन खोजिएको हो” भन्दै कम्युनिष्ट एकतालाई निरन्तरता दिन आग्रह गरे। उक्त सन्देशसभामा किरण चापा, मुक्तिनाथ पौडेल लगायत नेताहरूको विशेष उपस्थिती रहेको थियो। कार्यक्रममा एमाले, कांग्रेस सहितका विभिन्न दलका कार्यकर्ता सहभागी भई करिब २० जना पार्टी प्रवेश गरेको सुदीप बरालले बताए ।