वर्तमान सरकार चुनाव गराउन सक्षम छैन ः एमाले सचिव अधिकारी (भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष ६ गते २०८२ मा प्रकाशित


पोखरा,

नेकपा एमालेका नवनिर्वाचित सचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकार निर्वाचन गराउन सक्षम नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए ।

उनले गत भदौ २३ गते दिउँसो १ः०० बजेपछि सवारीसाधनसहित व्यापक तोडफोड र विध्वंस भएको उल्लेख गर्दै त्यसतर्फ राज्य गम्भीर हुन नसकेको बताए । “स्कुलका विद्यार्थीलाई स्कुलकै बसमा विभिन्न स्थानमा लगेर किन झारियो ? यो कुरा तपाईं पत्रकारहरूले पनि देख्नुभएको छ, तर किन यसबारे बोलिँदैन ?” भन्दै उनले सञ्चारमाध्यमप्रति पनि प्रश्न उठाए । एमाले सचिव अधिकारीले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक निकायमार्फत देशलाई निकास दिन सकियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्मरण गराए । ओलीसँग समन्वय नगरी गठन गरिएको सरकार अवैधानिक र प्रतिगमनतर्फ उन्मुख रहेको दाबी पनि उनले गरे ।

जेन–जी आन्दोलनका मागहरू उच्चस्तरीय र सम्बोधन गर्न योग्य रहेको उल्लेख गर्दै अधिकारीले ती माग पूरा हुनुपर्नेमा एमालेको सहमति रहेको बताए । यद्यपि आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाप्रति आपत्ति जनाउँदै उनले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । आन्दोलनको नाममा तोडफोड र अराजकता मच्चाउनेहरूलाई कडा कारबाही गर्न उनले सरकारसँग माग गरे । देशको सुरक्षा व्यवस्थाबारे बोल्दै अधिकारीले मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्म कम्युनिस्ट प्रधानमन्त्रीको नेतृत्वमा सरकार बने पनि स्पष्ट सुरक्षा नीति नबन्दा समस्या देखिएको बताए । “सुरक्षाका चारै निकाय अहिले मात्र होइन, पहिलेदेखि नै कमजोर बनाइँदै आएको छ,” उनले भने । राष्ट्रिय अनुसन्धान विभागलाई अनुसन्धानमै केन्द्रित हुने गरी स्रोत–साधन उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उनले सुरक्षा संयन्त्रलाई व्यावसायिक, सक्षम र अनुसन्धानमुखी बनाउन ढिलाइ गर्न नहुने बताए ।