पोखरामा आज (शुक्रबार) मौरी तथा मह मेला हुदै

-


     पोखरा क्लिक     
     मंसिर २६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २६ मंसिर

महको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा आज (शुक्रबार) मौरी तथा मह मेला–२०८२ हुने भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जाल–१६ को संयुक्त आयोजनामा मौरीपालन व्यवसायलाई प्रवद्र्धन तथा स्थानीय महको प्रचार–प्रसार गर्ने उद्देश्य सहित मेला आयोजना गर्न लागिएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो ।

पोखरा–१६ स्थित महेन्द्रगुफा परिसरमा हुने मेलामा उत्कृष्ट मौरीपालकलाई सम्मान गरिने छ भने मह काढ्ने प्रतियोगिता, कृषकस्तरको वक्तृत्व प्रतियोगिता, मौरीपालन सम्बन्धी खुला हाजिर–जवाफ, सरोकारवाला बीच कृषि सवाल–जवाफ, स्थानीय मह बिक्री र प्राविधिक प्रदर्शनी जस्ता आकर्षक गतिविधि हुने प्रमुख कडरियाले जनाउनु भयो । पोखरा क्षेत्रमा उत्पादन भएको घार सहितको मह प्रर्दशनी सहितको प्रतियोगिता तथा सम्मान एवं मह र मौरी सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत हुने भएको उहाँले जनाउनु भयो ।

पोखरामा वार्षिक ९० टन मह उत्पादन हुने कडरियाले दाबी गर्नुभयो । यहाँको महको माग अत्यधिक रहेको बताउदै उहाँले उहाँको महत गुणस्तरिय र निकै सावदिष्ट हुने दाबी गर्नुभयो । “पोखरा र आसपासका क्षेत्रमा मुख्यतः सेराना मह उत्पादन हुन्छ भने तराई तथा अन्य क्षेत्रबाट मेलिफेरा मह पोखरामा भित्रिने गरेको छ,” उहाँले भन्नुभयो। वडा स्तरीय कृषि सञ्जाल–१६ का अध्यक्ष जितबहादुर बस्नेतका अनुसार महोत्सवमा पोखराका ३३ वटै वडाका मौरीपालक सहभागी गराइने भएको छ । महानगरले वडा नं. १६ लाई मौरी पकेट क्षेत्रका रूपमा घोषणा गरिसकेको छ । बस्नेतका अनुसार सो वडामा मात्र करिब पाँच सय मौरीपालक व्यवसायी सक्रिय छन्।

पोखरा महानगरले मौरीपालनलाई प्रोत्साहन गर्न महको समर्थन मूल्य समेत तोकेको छ । स्थानीय मह किसानले प्रतिकिलो १,५०० देखि २,००० रुपैयाँमा बिक्री गर्दै आएका छन्। माग उच्च भएकाले अहिले समर्थन मूल्य (८२५ रुपैयाँ प्रतिकिलो) दिने अवस्था नरहेको महाशाखा प्रमुख कडरियाले बताउनु भयो । मौरी तथा मह मेलाले स्थानीय उत्पादन, मौरीपालन प्रविधि र कृषक सहभागितालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । कास्कीको रुपा गाउँपालिकाले पनि मह प्रबद्र्धन महमा अनुदान सहितका कार्यक्रम संचालन गर्दै आएको छ । पछिल्लो बर्षमा देशका धेरै ठाँउमा बाँझोे जमिन बढ्दै जादा मह व्यवसाय फष्टाउदो रुपमा रहेको पाइन्छ ।