पोखरामा करिब एक सय युवा ठगिए, सिटीईभिटी गण्डकी प्रदेशको लोगो र नाम दुरुपयोग, मेडिको नेटवर्कलाई कार्वाही !

-


     पोखरा क्लिक     
     मंसिर २२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा–२२, मंसिर,

देशमा बेरोजगारी समस्या भएका वेला पोखरामा सकि नसकि लाख रुपैया बुझाउदै केयर गिभर तालिम सिक्ने युवाहरु यति वेला अन्यौलमा परेका छन् । युवाहरुले सकि नसकि ऋण धन गरी सिप सिक्ने भन्दै उक्त तालिम लिए पनि हाल उक्त सटिफिकेटमा प्रश्न चिन्न उठे पछि हाल लाख खर्चियर तालिम लिएका युवाहरु अन्यौलमा परेका हुन् ।

सिटीईभिटी गण्डकी प्रदेशको आधिकारिक लोगो र नाम दुरुपयोग गर्दै बिद्यार्थीहरुबाट बढी रकम अशुल्दै आएको पोखराको मेडिको नेटवर्क प्रा.लि.माथि कार्वाही गर्न पिडितहरुले माग गरेका छन् । त्यसै गरी उनीहरुले आफुहरुले उक्त तालिममा तिरेको शुल्कः पुनः फिर्ता गर्न माग समेत गरेका हुन् । पोखराको सिद्धार्थ चोकमा व्यबस्थित ढंगले पिसिएल नर्सिङ कोर्ष गरेका नर्सहरुलाई प्रशिक्षक बनायर केयर गिभर तालिम दिदै आएको मेडिकोले विगत दुई बर्ष देखि तालिम संचालन गर्दै आए पनि उक्त तालिम प्राप्त सटिफिकेटमा अवैध रुपमा सिटीईभिटी गण्डकी प्रदेशको आधिकारिक लोगो र नाम दुरुपयोग गरेको खुलेको हो । उक्त संस्था विगत दुई बर्ष देखि हालसम्म १ सय ५० जना भन्दा बढीलाई हेयर गिभरको तालिम दिइ सकेको छ भने संस्थाले गत साउन ( २०८२ ) १९ गते मात्र सिटीईभिटी गण्डकी प्रदेशको सम्बन्धन प्राप्त गर्न सफल भएको थियो।

उक्त संस्थाको सटिफिकेट लियर वेलायतमा काम गर्न गएका केही युवाको सटिफिकेटमा प्रश्न उठे पछि कुरा बाहिरएको श्रोतको भनाई छ । उक्त संस्थाले विदेश जाने तयारी गरेका युवालाई लक्षित गर्दै प्रति व्यक्ति न्यूनतम रु ३५ हजारदेखि १ लाख ३० हजारसम्म उठाएको पीडितहरूले पोखराक्लिकलाई गुनासो गरेका छन् । उचित प्रमाणपत्र तथा वैध सम्बन्धन बिनै सर्टिफिकेट बाँड्दै आएको संस्थाले आफूहरूलाई रोजगारीका सपना सहित आर्थिक तथा भविष्यमा अन्योलमा पारेको बिद्यार्थीहरुको भनाई छ । यस बिषयमा सिटीईभिटी गण्डकी प्रदेशकी निर्देशक शारदा घिमिरेले उक्त संस्थाले आधिकारिक सम्बन्धन लिनु अघिदेखि नै सर्टिफिकेटमा सिटीईभिटीको नाम र लोगो प्रयोग गरेको पुष्टि भएपछि थप छानबिन अघि बढाइएको बताइन् । संस्थाका गतिविधि शंकास्पद पाइएको भन्दै सम्बन्धन खारेज गर्ने प्रक्रिया थालिएको घिमिरेले जानकारी दिइन् । यस्ता अनियमिततामा संलग्न निजी संस्थाहरूलाई प्रदेशबाट सिधै कारबाही गर्न नसकिने भएकाले केन्द्रसँग खारेजीको सिफारिस गरि सकिएको उनले जनाइन् ।

गत वर्षदेखि तालिम लिएको बताउने करिब ३०–४० जना युवाले प्रत्यक्ष कार्यालयमै गएर कारबाहीको माग गर्दै उजुरी प्रस्तुत गरेका थिए । उनीहरूले तालिमपछि पाइएको सर्टिफिकेट विदेशी रोजगारी प्रक्रियामा मान्य नहुने डर व्यक्त गरेका छन्। २०८२ साउन १९ गते मात्र सम्बन्धन प्राप्त गरेको संस्थाले त्यसअघि नै ठूलो संख्यामा सर्टिफिकेट बाँडेको तथ्यले विद्यार्थी अझै ठूलो अनिश्चिततामा परेका छन्। उक्त कार्यालयबाट सम्बन्धन प्राप्त संस्थाले ६५ दिनको लामो तालिम संचालन गरे वापत १७ हजार ५ सय रुपैया मात्र लिन पाउने नियमावलीमा उल्लेख भएको उनले जनाइन् । पिडितको भनाई अनुसार मेडिकोले करिब करोड भन्दा बढी ठगि गरेको हुन सक्ने बताइन्छ ।

मेडिको नेटवर्कमार्फत हालसम्म करिब डेढ सयभन्दा बढी युवाले तालिम लिएको बताइएको छ । रोजगारीको आशामा रकम खर्च गरेका उनीहरू अहिले ठगिएका महसुस गर्दै न्यायको अपेक्षामा छन्। उनीहरूको भनाइ छ— संस्थाले रकम मात्र असुल्यो, भविष्यमा के हुन्छ भन्ने कुनै प्रष्टता दिएन। यस घटनाले पोखरामा ‘केयर होम’ तालिम तथा विदेश रोजगारीसँग सम्बन्धित निजी संस्थाहरूको नियमन, प्रमाणिकरण र पारदर्शिताप्रति गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले समयमै ठोस कारबाही तथा स्पष्ट सूचना नदिए रोजगारीका खोजीमा रहेका युवाहरू फेरि–फेरि यस्तै ठगीको शिकार हुनसक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

मेडिको नेटवर्कबारे छानबिन तीव्र बन्दै गर्दा, प्रभावित विद्यार्थी न्यायको प्रतीक्षामा छन् र आगामी दिनमा यस्तो अनियमितता दोहोरिन नदिन कडा निगरानी तथा कानुनी व्यवस्था आवश्यक रहेको आवाज उठ्न थालेको छ । यस बिषयमा मेडिको नेटवर्कका संचालिका काजल श्रेष्ठले सिटिईभिटिबाट दुई बर्ष अघि मान्यता प्राप्त गर्नको लागि प्रस्ताव पेश गर्दा स्विकार पत्र आएकोले काम गरेको बताइन् । बिद्यार्थीहरुसंग चर्को शुल्क अशुल्नु भएको रैछ नी किन होला भन्ने हाम्रो प्रश्नमा उनले आफ्ना प्रशिक्षक र अन्य यस्ता तालिम दिने संस्थाले समेत शुल्क बढी लिएकोले आफुले त्यसको देखासिकी गरेको बताइन् ।

अर्को कुरा उनले यसरी खुलाइन सिटिईभिटिका एक कर्मचारीले आफुलाई काम सुरु गर्नु भनेर सल्लाह दिए अनुसार अघि बढेको जनाइनु । संस्थामा तालिम संचालन हुदै गर्दा उहाँ कार्यालयमा समेत आएको उनले बताइन् । आफुहरुले ३ सय ९० घण्टा तीन महिनमा उक्त कोर्ष पूरा गर्ने गरी ७० हजार देखि १ लाखसम्म लिएको श्रेष्ठले बताइन्ु । आफ्नै एक प्रशिक्षार्थी र प्रशिक्षकबाट आफ्नो बारेमा नकरात्मक कुरा फैलायर आफ्नो व्यवसायलाई नै धरापमा बनाउने काम भएको समेत उनले गुनासो गरिन् । अब बिद्यार्थीसंग लिएको शुल्क फिर्ता गर्नु हुन्छ भन्ने पोखराक्लिको प्रश्नमा उनले कानून अनुसार आफु गलत भए फिर्ता गर्न राजि भएकी छन् ।