
दीननाथ बराल,
पोखरा, ११ मंसिर,
पोखरा महानगरपालिका वडा नम्बर १९ को चुरुङ्गामा शनिबार (पर्सि) दोस्रो संस्करणको दाँई महोत्सव २०८२ हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा शनिबार हुने उक्त महोत्सवमा आन्तरिक तथा बाह्यि पर्यटक एवं दर्शक तथा ददेराहरु गरी करिब एक हजार जनाको महोत्सवमा सहभागि गराउने अन्तिम तयारी भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
“पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित महोत्सवमा विभिन्न नगद सहितको पुरस्कारको व्यबस्था गरिएको महोत्सव संयोजक हरिबहादुर भुजेलले बताउनु भयो । कृषिप्रधान देश नेपाली समाजको परम्परागत कृषि प्रणालीको प्रवद्र्धन तथा नयाँ पुस्तालाई खेतीपातीको मौलिक ज्ञान हस्तान्तरण गर्ने उद्देश्य सहित उक्त महोत्सव यसपाली पर्यटकीय र कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण रहेको चुरुङ्गामा उक्त महोत्सवको तयारी गरिएको परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो ।
पोखरामा तीव्र शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको र कृषिप्रति युवापुस्ताको आकर्षण कमजोर बन्दै गएको पृष्ठभूमिमा दाँई महोत्सवले कृषकको परम्परागत परिश्रम, धान उत्पादनको सांस्कृतिक महत्व र कृषि पर्यटनको सम्भावनालाई पुनःस्मरण गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको मौलिक कृषि पहिचान नजिकबाट अवलोकन गराउने लक्ष्य लिएको आयोजकले जनाएको छ । दाँई महोत्सवले कृषकलाई सम्मान, कृषि पेशाप्रति उत्प्रेरणा र परम्परागत प्रविधिको प्रदर्शन मार्फत कृषि पर्यटनको अवधारणालाई व्यवहारमै उतार्ने भएको महोत्सव संयोजक हरी भुजेलले बताउनु भयो ।नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ निर्देशक तथा प्रमुख मणि राज लामिछानेले पोखरा र पोखरा आसपास क्षेत्रमा हुने यस्ता मेला महोत्सवले पर्यटन प्रर्बद्धन हुने विश्वास व्यक्त गर्दै पोखरामा मात्र केन्द्रित नभई पोखरा आसपास क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न आफुहरु लागेको जनाउनु भयो ।
“धान मुख्य खाद्यबाली भएकाले त्यसको उत्पादनदेखि भित्र्याउने प्रक्रिया आफैँमा नेपाली पहिचान भएको उहाँको भनाई थियो । महोत्सवमा विभिन्न प्रतियोगिता तथा गतिविधि हुने भएको छ । उत्कृष्ठ गोरू पालक प्रतियोगिता हुने भएको छ । धेरै धान उत्पादन गर्ने कृषक सम्मान, धान चुट्ने दँदेरा प्रतियोगिता, परालको भारी बोक्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, सहभागी दँदेरीलाई परम्परागत टोपी वितरण, अतिथिलाई स्थानीय उत्पादनको उपहार लगायतका आकषर्णहरु रहेकाछन् । विभिन्न प्रतियोगिता अन्र्तगत उत्कृष्ट गोरु पालन किसानलाई ५ हजार, पोखराका ३३ वटा वडा भित्रका किसानहरु मध्य धेरै धान उत्पादन गर्ने किसानलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार र तेश्रो हुनेलाई ५ हजार प्रदान गरिने भएको छ । धान चुड्ने, गुन्द्री तथा चकटी बुन्ने प्रतियोगिता तथा परालको भारी हाल्ने प्रतियोगिताका बिजेताहरुलाई क्रमशः प्रथम, दितिय र तृतीयलाई ३, २ र १ हजार प्रदान गरिने भएको छ । दाँई महोत्सवले पर्यटकलाई ग्रामीण जीवन, कृषि संस्कार तथा स्थानिय उत्पादनको प्रत्यक्ष अनुभव गराउँदै पोखरा भ्रमण वर्षलाई समेत प्रबद्र्धन गर्ने भएको परिषदले विश्वास व्यक्त गरेको छ ।
चुरुङ्गा टोल विकास संस्थाका अध्यक्ष दयाराम गौतमले सो क्षेत्रमा झिनुवा जातको धान उत्पादनका लागि परिचित रहेको बताउनु भयो । परम्परागत धानहरु हाल लोप हुदै गरेको उहाँको भनाई थियो । पछिल्ला वर्ष कृषि पर्यटन, अर्गानिक उत्पादन र गाउँको प्राकृतिक सौन्दर्यका कारण चुरुङ्गा आकर्षक गन्तव्य बन्दै गएको गौतमको भनाई छ । महोत्सवमा करिब १ हजार पर्यटक तथा स्थानीयको उपस्थिति हुने अपेक्षा गरिएको छ । महोत्सवमा सहभागि हुनको लागि दुई वटा निःशुल्क बस सेवा समेत व्यबस्था गरिएको परिषदका महासचिव जीवनराज सापकोटाले बताउनु भयो ।



