
पोखरा,
नेपालकै सर्वाधिक राशिको महिला फुटबल प्रतियोगिता ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२’ मा उपाधिको बलियो दाबेदारीका रूपमा रहेको आरएस पोखरा फुटबल क्लब झापामा सघन प्रशिक्षणमा रहेको छ। पोखराको महिला टोली हाल झापाको दमकमा करिब १० दिनदेखि ‘क्लोज क्याम्प’ अर्थात् बन्द प्रशिक्षणमा व्यस्त रहेको हो। सोमबार (कात्तिक १७ गते) बाट शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु हुने गोल्डकपका लागि टोलीको तयारीलाई अत्यन्त अर्थपूर्ण रूपमा हेरिएको छ।
आरएस पोखराले प्रतियोगिताको पहिलो खेलमा कात्तिक २० गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग भिड्नेछ। त्यसअघि टोलीले दमकको मौसम र मैदानमा आफूलाई अभ्यस्त बनाउने, रणनीतिक योजनालाई अन्तिम रूप दिने उद्देश्यसहित प्रशिक्षण क्याम्प सञ्चालन गरेको हो।
क्लोज क्याम्पमा खेलाडीहरूको शारीरिक तन्दुरुस्ती र टिम समन्वयमा विशेष जोड दिइएको प्रशिक्षक सुमन श्रेष्ठले बताए। उनका अनुसार नकआउट प्रणालीमा हुने गोल्डकपका खेलहरू लगातार हुने भएकाले खेलाडीहरूलाई मानसिक र शारीरिक रुपमा अभ्यस्त बनाउन लागिएको छ ।





