पोखराको फेवाफाँटमा गवारो किराले धान खान सुरु, यस बर्ष पनि किसान मर्कामा

-


     पोखरा क्लिक     
     श्रावण ५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ५ साउन,

पोखराको फेवाफाँट क्षेत्रमा यस वर्ष पनि गवारो किराको प्रकोपले गर्दा स्थानिय किसान चिन्तित हुनु भएको छ । धान रोप्न नपाउँदै गवारो किराले बालीनाली सखाप पार्न थालेपछि किसानहरू चिन्तित हुनु हुनु भएको हो ।

पोखरा–२३ स्थित फेवाफाँटमा करिब २ हजार रोपनी क्षेत्रफलमा गवारो किराको प्रकोप फैलिएको स्थानीय देविलाल लामिछानेले पोखराक्किलाई बताउनु भयो । उहाँका अनुसार असारमा लगाएको धान खेतमै नष्ट हुन थालेको छ भने यस वर्ष करिब ५ सय रोपनी खेत बाँझै रहेको छ । गएको वर्ष पनि गवारोको प्रकोपका कारण करिब ७० प्रतिशत धान उत्पादनमा गिरावट आएको स्थानिय किसानको दाबी छ । त्यसपछि किसानले विकल्प स्वरूप गहुँ खेती गरे पनि गहुँमा समेत गवारो देखिएपछि थप समस्या भएको थियो।

स्थानीय कृषकहरूका अनुसार गवारो किराबारे पर्याप्त जानकारी नहुँदा नियन्त्रणमा समस्या भएको लामिछानेले बताउनु भयो । कृषकहरूले पोखरा महानगरपालिकाको कृषि महाशाखा र कृषि ज्ञान केन्द्र कास्कीलाई जानकारी गराएको भए पनि प्रभावकारी समाधान नआएको गुनासो गर्नु भएको छ । फेवाफाँटमा पोखरा महानगरले ‘जेठोबुढो’ धान खेतीलाई पकेट क्षेत्र घोषणा गरी कृषकलाई प्रोत्साहन गर्दै आएको छ तर गवारोको कारण धान उत्पादन प्रभावित भएपछि त्यस क्षेत्रमा गहुँ क्लस्टरको रुपमा खेती गराइएको थियो।

गवारो किराको समस्या समाधान गर्न कृषि ज्ञान केन्द्र कास्की र पोखरा महानगरका प्रतिनिधिहरू फेवाफाँटमै खटिएका छन्। पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनहर कडरिया र कृषि ज्ञान केन्द्र प्रमुख किरण सिग्देल सहितको टोलीले कृषकलाई आगोको राँको बाल्न सल्लाह दिनु भएको छ । रातको समयमा राँको बाल्दा गवारो किरा ज्वालामा पर्ने र मर्ने भएकाले यस उपायलाई प्रभावकारी मानिएको सिग्देलले बताउनु भयो । सुक्खा खेतमा विषादी प्रयोग गर्न पनि सल्लाह दिइएको छ ।

कृषि महाशाखा प्रमुख कडरियाका अनुसार गवारो किराले धानको डाँठ भित्र पसि गुभो खाँदै बालालाई सिध्याउँछ । गवारो लागेको बाला सेतो देखिन्छ भने हरियो बाला भने सुरक्षित रहन्छ। विज्ञहरूका अनुसार गवारो किरा पुतली वर्ग अन्तर्गत पर्छ। यसको माउले पातको टुप्पोमा अण्डा पार्ने र त्यसबाट निस्केको लार्भाले डाँठमा प्वाल पारेर भित्र पस्दै गुभो खान्छ। समयमै उपचार नगरेमा पूरै बाली नष्ट हुन सक्ने कृषि विज्ञले चेतावनी दिनु भएको छ ।

कृषकहरूले प्रारम्भमै गवारोको प्रभावबारे जानकारी नपाउँदा ठूलो क्षति भएको गुनासो गर्दै आउनु भएको छ । यद्यपि, पछिल्लो समय सचेतना र विषादीको प्रयोगसँगै केही हदसम्म नियन्त्रणमा आएको केन्द्रका सूचना अधिकारी रामकृष्ण अर्यालले जनाउनु भयो । गवारो किरा नियन्त्रण गर्न फेवाफाँटको पानीको बाहबले गर्दा समेत थप समस्या भएको बताउदै उहाँले परम्परागत विधि अपनाउनु उत्तम हुने तर्क गर्नुभयो । गत बर्ष पनि गवारो किराको कारण धान उत्पादनमा करोडौंको क्षति पुगेको बताउदै स्थानियले यस बर्ष पनि गत बर्ष भन्दा झन बढी समस्या हुन लागेको दाबी गर्नु भएको हो।