पोखरा रंगशालामा खेल मैदान अन्य कार्यक्रमलाई दिन दबाब, फुटवल प्रशिक्षण नै स्थगित

-


     पोखरा क्लिक     
     फागुन ५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ५, फागुन,

नेपालको राजनीति धेरै क्षेत्रमा हावी हुँदा नेपाली जनताले राजनीतिक प्रति बितिष्र्णा जगाएको समयमा पोखरामा पनि एउटा कार्यक्रमको लागि आवश्यक भन्दा बढी दबाबमा खेल मैदान उपलब्ध गराउन दबाब दिइएको छ । पोखरा रंगशालाको बैकल्पिक फुटवल (प्रशिक्षण) मैदान एक साताको लागि कार्यक्रम गर्न भनि माग गरिए पनि कार्यक्रम सुरु नहुदै दुइृ साता देखि उक्त मैदान अबरुद्ध हुदा फुटवल प्रशिक्षण बन्द गर्नु परेको छ ।

खेल मैदान खेलकुदका गतिविधि र विभिन्न प्रतियोगिताको लागि निश्चित मापदण्ड बनायर जिल्ला खेलकुद विकास समिति कास्कीले निर्वाद रुपमा संचालन गर्दै आएको सन्दर्भमा जीवन विज्ञान प्रतिष्ठानलाई एक साता विराट चक्र विज्ञान कार्यक्रम गर्न चौतर्फी दबाबमा अनुमति दिएसंगै एन्फा कास्कीले संचालन गर्दै आएको फुटवल एकेडेमीको प्रशिक्षण प्रभवित भएको एन्फा कास्कीले गुनासो गरेको छ ।

पोखरा रंगशालाको बैकल्पिक फुटवल (प्रशिक्षण) मैदान एक साताको लागि कार्यक्रम गर्न एक महिना देखि अबरुद्ध हुँदा फुटवल प्रशिक्षण नै प्रभावित भएको एन्फा कस्कीका अध्यक्ष उज्वल रन्जितले पोखराक्लिक सामु गुनासो गर्नु भयो । पोखरामा फुटवल खेलको तल्लो स्तरबाट माथि उकास्ने उद्धेश्यले किरण श्रेष्ठ, योगेन्द्र थकाली, शम्भु केसी र सन्तोष केसीको प्रशिक्षणमा हरेक दिन उक्त मैदानमा ८०÷९० जना बालिकहरुले फुटवल एकेडेमीको रुपमा प्रशिक्षण गराउदै आए पनि विगत दुई साता देखि प्रशिक्षण प्रभावित भएको उहाँले बताउनु भयो ।

अझै दुई साता भन्दा बढी समय उक्त मैदान अबरुद्ध हुदा एकेडेमीमा रहेका वालकहरुको प्रशिक्षणमा ठुलो असर परेको अध्यक्ष रञ्जितले दाबी गरे । सम्बन्धित खेल बाहेक अन्य खेल तथा कार्यक्रम असम्बन्धित खेल मैदानमा गर्न अनुचित भएको खेलकुदकर्मीको भनाई छ । यस बिषयमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले उक्त कार्यक्रम पोखरामा हुनु राम्रो भएको तर फुटवल प्रशिक्षण मैदानमा महिना दिनु हुनु उपयुक्त नभएको बताउनु भयो । आफुहरुसंग एक हप्ताको कार्यक्रम गर्ने भनेर सम्झौता गरे पनि करिब तीन साता देखि उक्त स्थलमा निर्माण कार्य सुरु गर्दा खेलकुदका गतिविधि हुने मैदान प्रभावित भएको उहाँले जनाउनु भयो ।

आफुहरुले निश्चित शुल्क सहित निश्चित समयको लागि केही ठाँउहरु सम्बन्धित स्थानमा मात्र जग्गा भाडामा दिने योजना बनाए पनि केन्द्रबाट परिपत्र सहित दाबब आए पछि आफुहरुले चाहेर पनि रोक्न नसकेको उहाँको आशय थियो । केही समय अघि उक्त फुटवल मैदानमा दुवो रोप्ने देखि केही भौतिक संरचना निर्माणमा १० लाख भन्दा बढी खर्च भएको सो मैदानमा भाडा शुल्क पनि १० दिनको मात्र समितिले लिने भएको छ । एक महिना अबरुद्ध हुने गरी फुटवल प्रशिक्षण मैदानमा किन भाडा शुल्क पुरै नलिनु भएको भन्ने हाम्रो प्रश्नमा अध्यक्ष बानियाले आफुहरुलाई चौतर्फी दाबाब आएका कारण न्यूनतम सरसफाई वापतको मात्र शुल्क लियर उक्त मैदान भाडामा दिन बाध्य भएको प्रतिकृया दिनुभयो । हुन पनि समितिलाई पोखरा महानगरपालिका देखि गण्डकी प्रदेशको सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय हुदै प्रानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट समेत परिपत्र गर्दै जीवन विज्ञान प्रतिष्ठानको विराट चक्र विज्ञान कार्यक्रमलाई सफल पार्न सहयोग गर्न अनुरोध गरिएको छ ।

समितिले उक्त फुटवल मैदान प्रयोग गरे वापतको प्रतिदिनको अन्तराष्ट्रिय खेलकुदका कार्यक्रम वा प्रतियोगिता गर्दा २० हजार, राष्ट्रिय रुपमा गर्दा १० हजार र स्थानिय रुपमा गर्दा ५ हजार शुल्क निर्धारण गरे पनि प्रतिष्ठानले यसको कुनै परिपालना नगरेको समितिका सचिव कन्चन थापा कोइरालाले बताउनुभयो । खेलकुदमा अनावश्यक दबाब आउनु उपयुक्त नभएको कोषाध्यक्ष अभिषेश थापाले बताउनु भयो । यही फागुन ११ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा हुने उक्त कार्यक्रममा करिब ६ हजार भन्दा बढीको उपस्थिति हुने उक्त प्रतिष्ठानका अमेरीकाका संयोजक तथा हाल पोखराका स्वयमसेवक लोक तिवारीले बताउनुभयो । पहिलो दिनको कार्यक्रम फागुन १० गते ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ ।

अनलाइन मार्फत, पालिका मार्फत र विदेशबाट एनआरएनए सहितको गरी करिब उक्त एक साताको प्रशिक्षणमा ६ हजार जना सहभागि हुने उहाँले बताउनु भयो । पोखरा रंगशालामा बैकल्पिक फुटवल मैदानमा हाल ९७ हजार बर्ग फिटमा र आर्चरीको परिसरमा १ लाख ४० हजार बर्ग फिटमा विभिन्न भौतिक संरचना निर्माण हुदैछ ।

उक्त कार्यक्रम गर्न अस्थायी रुपमा ५० वटा सौचालय निर्माण, मञ्च सहितको ध्यान तथा योगा केन्द्र बनाउदा करिब १ करोड खर्च हुने भएको स्वयमसेवक तिवारीले जनाउनु भयो । प्रतिष्ठानले फागुन ८ देखि १७ गतेसम्मको लागि भाडामा लिने गरी सम्झौता गरेको छ यद्यपी तयारी भने सम्झौता गरे भन्दा धेरै समय अघि देखि उक्त स्थानमा समानहरु राखेर मैदान अबरुद्ध भएको समितिले गुनासो गरेको छ ।