भूपी काव्य पुरस्कारद्वारा असफल गौतम पुरस्कृत

-


     पोखरा क्लिक     
     पौष ११ गते २०८१ मा प्रकाशित


थकाली सेवा समिति पोखराले नेपाली साहित्यका विराट प्रतिभा भूपी शेरचनको ८९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।

समितिले हरेक दुई वर्षमा अर्पण गर्दै आएको भूपी काव्य पुरस्कार यो वर्ष साहित्यकार असफल गौतमलाई अर्पण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समितिका सल्लाहकार हरिध्वज तुलाचन र अध्यक्ष तेजेन्द्र तुलाचनले नगद ५० हजारसहित उनलाई उक्त सम्मान अर्पण गरे ।

सोही समारोह बीच साहित्यकार रवीन्द्र माकाजूद्वारा लिखित ‘थकाली प्रतिभाहरू’ पुस्तकसमेत लोकार्पण गरियो ।

कार्यक्रमका प्रमुख अतिथि तुलाचनले भूपी आफ्नै मेहनत र साधनाले महान् बनेको बताउँदै मानव जाति सबैको हित हुने काममा लाग्नुपर्ने धारणा व्यक्त गरे ।

गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले भूपीको प्रभावशाली व्यक्तिबाट पछिल्लो पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिए ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले थकाली सेवा समितिले भूपी काव्य पुरस्कारका माध्यमबाट भूपीको योगदानलाई चिरस्थायी बनाउन उल्लेख्य योगदान दिएको बताइन् ।

समितिका केन्द्रीय उपाध्यक्ष शिवशंकर गौचनले भूपी थकाली जातिको मात्र नभएर राष्ट्रकै गौरव भएको धारणा राखे ।
थकाली सेवा समिति पोखराका निवर्तमान अध्यक्ष इ. रुजिन्द्र तुलाचनले भूपीको काव्यकारिताका बारेमा चर्चा गरे ।

समितिका पूर्व केन्द्रीय उपाध्यक्ष डा. सोमतसिंह तुलाचनले कविता लेखेर भूपीलाई देखाउँदा भूपीले आफूलाई कवि नबनोस् भन्ने धारणा राखेको स्मरण गरे ।

सम्मानित स्रष्टा असफल गौतमले भूपीको नाममा स्थापित पुरस्कारले थप साधनामा लाग्न जिम्मेबारीबोध भएको बताए । उनले थपे, “घर पहिलो पाठशाला, विद्यालय दोस्रो र समाज तेस्रो पाठशाला भएकाले थकाली सेवा समिति जस्ता समाजले भूपीको योगदान चिरस्थायी बनाउन १० कक्षा पढ्दासम्म राष्ट्रियताको वकालत गर्ने विद्यार्थीलाई आफ्नै देशमा भविष्य देशमा देख्न सक्ने जिम्मेवार देशभक्त बताउन आवश्यक छ ।”

संस्थाका सचिव भक्त शेरचनले असफल गौतमको व्यक्तित्व प्रस्तुत गर्दै साहित्यका विविध विधामा क्रियाशील बहुआयामिक प्रतिभालाई भूपी पुरस्कार अर्पण गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको धारणा राखे ।

कार्यक्रममा समितिका सल्लाहकार विश्वमोहन गौचन, योगेन्द्र शेरचन, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’, साहित्यकार रवीन्द्र माकाजू, बबी गौचन, ओमप्रसाद गौचनलगायतले राष्ट्रिय प्रतिभा भूपीका विविध आयामबारे आफ्ना धारणा राखे ।

उपाध्यक्ष सतकुमारी शेरचनको स्वागत मन्तव्य रहेको कार्यक्रम थकाली सेवा समिति पोखराका अध्यक्ष तेजेन्द्र तुलाचनको अध्यक्षतामा सम्पन्न भएको थियो ।



This will close in 20 seconds