अनेसास गण्डकीमा देवेन्द्र के.सी.

-


     पोखरा क्लिक     
     मंसिर १६ गते २०८१ मा प्रकाशित


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र के.सी. निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् ।
अनेसास नेपाल च्याप्टरद्वारा शनिवार पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, लोकार्पण र सम्मानसहितको घोषणा सभा आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले सभाको उद्घाटन गर्दै नेपाली भाषा, साहित्यका लागि अनेसासले पु¥याएको योगदान अतुलनीय रहेको बताए ।
उनले आफू नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा रहेका बेला अनेसासका केही च्याप्टरका कार्यक्रममा सहभागी भएकोसमेत स्मरण गरे ।
वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालाले नवगठित समितिलाई बधाई ज्ञापन गर्दै नेपाली भाषा, साहित्य, कला, संस्कृति संरक्षणमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले उल्लेख्य योगदान दिएको बताइन् ।

अनेसासका केन्द्रीय सचिव रविन शर्माले प्रदेश समितिले विगतका वर्षमा जस्तै गरी साहित्यिक गतिविधि सञ्चालन गर्नेमा विश्वस्त रहेको धारणा राखे ।

¥याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष रुपिन्द्र प्रभावीले साहित्यको उन्नयनका लागि स्थापित संघसंस्थाका बीच सहकार्य र सहयात्रा गरेर अगाडि बढ्दा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे ।

नवनिर्वाचित अध्यक्ष देवेन्द्र के.सी.ले अनेसास केन्द्रीय समितिको वार्षिक कार्ययोजनानुसार प्रदेश समितिलाई क्रियाशील राख्न प्रतिबद्ध रहने बताए ।

समारोहमा केन्द्रीय सदस्य सुमन वर्षा, नेपाल च्याप्टरका पूर्व महासचिव ऋषभदेव घिमिरे, वरिष्ठ पत्रकार बद्री विनोद प्रतीकले अनेसासका विविध गतिविधिबारे प्रकाश पारेका थिए ।

सोही समारोहबीच अनेसास बोस्टन च्याप्टर अध्यक्ष तथा केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको गजलगायन समेत रहेको थियो । पन्तले आफ्ना र अनेसासका पदाधिकारीका गजल गायन गरेका थिए । उनलाई तबलामा संगीत प्रशिक्षण केन्द्रका संगीतकार मिलनले सहयोग गरेका थिए ।

विशेष रचनावाचनमा अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मञ्जिला अनिल, कोषाध्यक्ष कमला रिसाल, कतार च्याप्टर पूर्व अध्यक्ष प्रेम भट्टराई, अनेसास पोर्चुगल च्याप्टर महासचिव एन.बी. अञ्जानलगायतले रचना प्रस्तुत गरेका थिए ।

समारोहमा नवनिर्वाचित अध्यक्ष देवेन्द्र केसी देवुका मुक्तक सङ्ग्रह दृढ संकल्प र गीति एल्बम देवुको गृह लोकार्पणसमेत गरिएको थियो । यस्तै, कार्यक्रम संयोजक दुर्गाबहादुर शाह बाबालाई पुतलीबजार प्रज्ञा–प्रतिष्ठानको उपकुलपति नियुक्त भएकामा सम्मानसमेत गरिएको थियो ।

अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र के.सी.ले अनेसासका प्रदेशस्तरमा स्थापना भएका समितिलाई क्रियाशील गराउनका लागि गण्डकी प्रदेशबाट शुरु गरिएको बताए । कार्यक्रमको सञ्चालन अनेसास नेपाल च्याप्टर महासचिव रञ्जना निरौला र प्रदेश समितिका महासचिव असफल गौतमले गरेका थिए ।