आलु महोत्सवमा २२ लाख आलुको कारोबार

-


     पोखरा क्लिक     
     वैशाख १ गते २०८१ मा प्रकाशित


हेमजा, १ बैशाख


१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो।

बागलुङ, स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम ३ सय केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताउनुभयो । प्रतिकेजी रु।४० मा आलु बिक्री गरिएको छ । हालसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिनुभयो । महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ ।

कृषि उपजका नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आउने गरेको महोत्सव अवलोकन गर्न आउने दर्शकको भनाइ छ । त्यसका साथै आलु लगायत अन्य स्टलवाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत हवातै बढेको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।



This will close in 20 seconds