अफ्रिकन स्वाइन फिभर रोगबाट कास्की सहित गण्डकी प्रदेशमा १६ हजार ५ सय बंगुर÷सुंगुर मरे

-


     पोखरा क्लिक     
     माघ २९ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

सर्तक रहन तत्काल धेरै सङख्यामा बंगुर उत्पादन नगर्न सुझाव

कास्की सहित गण्डकी प्रदेशमा करिब साँढे दुई बर्षको अवधिमा १६ हजार ५ सय ५४ वटा बंगुर तथा संगुर मरेका छन् । अफ्रिकन स्वाइन फिभर रोगका कारण प्रदेशमा उक्त संख्यामा बंगुर मरेको गण्डकी प्रदेशको पशुपालन तथा मत्स्यपालन विकास निर्देशनालय पोखराले सोमबार आयोजना गरेको बंगुर÷सुंंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग सम्बन्धि मिडिया ब्रिफिङ कार्यक्रममा उक्त सत्थाङक सार्वजनिक गरिएको हो ।

यस अवधिमा कास्की जिल्लामा मात्र १५ हजार ३ सय ८८ वटा अर्थात ९२.९५ प्रतिशत बंगुर÷सुंंगुर मरेको तथ्याङ्क रहेको गण्डकी प्रदेशको पशुपालन तथा मत्स्यपालन विकास निर्देशनालय महा—निर्देशक डा.प्रेरणा सेढाई भट्टराईले बताउनु भयो । उक्त रोगका कारण पछिल्लो दुई महिनामा कास्की जिल्लामा ५५ बटा, तनहुँमा ३० वटा, लम्जुङमा १४ वटा, गोरखामा १३ वटा गरी कुल १ सय १२ बटा बंगुर मरेका उहाँले जनाउनु भयो । अहिलको अबस्थामा उच्च सावधानि अपनाउदै धेरै सङख्यामा बंगुर पालन नगर्न व्यवसायीहरुलाई सुझाव दिइएको छ । बिउको रुपमा भएका बंगुरको उचित ढंगले पालना गर्न पशु चिकित्सकले आग्रह गर्नु भएको हो ।

गण्डकी प्रदेशमा करिब १ हजार भन्दा बढी व्यवसायीक बंगुर पालन किसान भए पनि हाल उक्त रोगको कारणले गर्दा एक तिहाई मात्र जेनतेन संचालनमा रहेको महा—निर्देशक भट्टराईले उल्लेख गर्नु भयो । उहाँका अनुसार प्रदेशमा उक्त सङख्यामा बंगुर÷सुंंगुर मर्दा करिब ५० करोड भन्दा बढीको आर्थिक क्षती हुन पुगेको छ ।

तिब्र गतिमा फौलिने यो रोग नेपालमा २०७९ साल जेठ २ गते पहिलो पटक पुष्टि भए पनि गण्डकी प्रदेशमा २०७९ साउन २९ गते पोखरा १४ मा पुष्टि भए पश्चात यस रोगलाई नियन्त्रण गर्न कृषकहरूलाई जैविक सुरक्षा विधि अवलम्बन गर्ने, जैविक सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम गर्दै आएको विकासका महा निर्देशक डा.प्रेरणा सेढाई भट्टराईले बताउनु भयो ।

यस पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मार्फत गण्डकी प्रदेशका जिल्लाहरू स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा स्थानिय तहहरुलाई पत्रचार गरी खोरहरुमा निःसंक्रमण कार्यक्रम, रोगको सर्भिलेन्सका कार्यहरू संचालन साथै पशुजन्य ओसार–पोसारमा निगरानी तथा आवश्यकता अनुसार विभिन्न औषधी उपचार सहयोग जस्ता कार्यहरूका माध्यमबाट यस रोगलाई नियन्त्रण गर्ने प्रयास गर्दै आएको प्रदेशको कृषि तथा भूमि व्यबस्था मन्त्रालयका सचिव टंक प्रसाद प्रर्साईले बताउनु भयो ।

अफ्रिकन स्वाइन फिभर रोग सुंगुर, बंगुर तथा बँदेल प्रजातिमा लाग्ने (मानिसमा नसर्ने) अत्यन्तै संक्रामक तथा उच्च मृत्युदर भएको रोग रहेको सचिव प्रर्साईले बताउनु भयो । कास्की सहित तनहुँ,म्याग्दी, नवलपरासि, स्याङजा र लमजुङमा अफ्रिकन स्वाइन फिभर रोग शंक्रमणले प्रभाव पार्दै आएको निर्देशनालयका बरिष्ठ पशु विकास अधिकृत बालकुमार श्रेष्ठले बताउनु भयो ।

यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध नभएकोले गर्दा जैविक सुरक्षामा उपाय अबलम्बन गर्न, रोकथामको सर्वोत्कृष्ट उपाय रहेको उहाँले बताउनु भयो । अन्यत्रबाट फर्किएर खोरमा पस्दा कपडा फेरेर वा डिस्इनफेक्टेन्ट छरेर मात्रै प्रवेश गर्ने, खोरमा फोहोर व्यवस्थापन गर्ने, होटल, भोजभतेर तथा घरबाट ल्याइएको जुठो खाना सकेसम्म नदिने र खुवाउनुपरेको खण्डमा बंगुरला अगावै ३० मिनेट जति पकाएर दिने, जंगली बंगुर बँदेल र घरपालुवा बंगुरलाई सिधा सम्पर्कमा आउन नदिन निर्देशनालयले हाल निर्देशन दिदै आएको छ ।

पोखरा पुरन्चौरकी एक बंगुर व्यवसायी सरस्वती बस्ताकोटीले सरकारी तथ्याङक भन्दा अझ बढी बंगुरपालन किसानहरु मर्कांमा परेको पोखराक्लिकलाई बताउनु भयो । हाल उहाँको फार्ममा २ सय वटा बंगुर रहेका छन्। उक्त रोगबाट बचाउन आफु निकै चनाखो भएको बस्ताकोटीले जनाउनु भयो ।