पोखरा महानगरपालिकाको सहजीकरणमा राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा यही पुष २६ गते देखि पोखरामा महायज्ञ हुने भएको छ । आउदो माघ ४ गतेसम्म पोखरा–१४, वाच्छिबुडुवामा श्रीमद भागवत ज्ञान महायज्ञ–२०८० हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पोखराका सडक क्षेत्रमा छाडिएका गाईहरुको दिगो रुपमा व्यबस्थापन गर्न अक्षयकोष स्थापना गर्न पनि महायज्ञ आयोजना गर्ने तयारी गरिएको महासंघका संस्थापक अध्यक्ष एवं महायज्ञका मुख्य वक्ता भागवत भास्कर पण्डित कमलनयन गौतमले बताउनु भयो । राष्ट्रिय परोपकार महासंघ नेपालको १६ औं वार्षिक उत्सवको अवसरमा गाइ संरक्षण तथा गाई पाठशाला निर्माण गर्ने उद्धेश्यले उक्त महायज्ञ आयोजना हुने भएको उहाँले जनाउनु भयो ।
गत चैत देखि पोखराको पुरानो ल्याण्डफिल्ड साइडमा गौमाता (गाई) संरक्षण अभियान महासंघले सुरु गरेसंगै हालसम्म करिब २ करोडको लगानी भएको छ । हाल व्यबस्थित ३ सय क्षमताको गाई गोठ तयार भएको बताउदै पण्डित गौतमले गाईको महत्व बुझाउदै गाईको अनुसन्धान केन्द्र अर्थात गाईपाठशाला समेत बनाउने आफुहरुको योजना रहेको सुनाउनु भयो ।
उक्त परियोजानमा हाल वाच्छावाच्छी सहित १ सय ५० वटा गाई रहेको संस्थापक अध्यक्ष गौतमले बताउनु भयो । हाल दैनिक ५० लिटर गाईको दुध समेत उत्पादन हुने गरेको उहाँले बताउनु भयो । गाइको मल मुत्रलाई प्रशोधन गरी बजारमा अर्गानीक कृषि उत्पादनका लागि मल समेत उत्पादन गर्ने योजना रहेको समितिका जेबी कुवंरले बताउनु भयो । सो क्षेत्रमा साना तथा ठुला गाई गोठ निर्माण भएको छ भने डाले घाँसका करिब २ सय वटा बिरुवा समेत रोपिएको छ । जनशक्ति अभावले गर्दा अझ गाई बस्तुलाई प्रयाप्त मात्रमा हरियो घाँस खुवाउन नसकिएको समितिले जनाएको छ ।
गत बर्ष पोखरा महानगरले उक्त अभियानका लागि छाडा चौपाय संरक्षण गर्न ५० लाख विनियोजन गरेको पोखरा महानगरका प्रवक्ता मोतिराम तिम्सिनाले बताउनु भयो । महासंघले सुरु गरेको अभियानले गर्दा पोखराका सडकमा दुर्घटना हुने गरी छाडा छोडिएका गाई बस्तु हाल पोखराको सडकमा खासै नभएको उहाँले दाबी गर्नु भयो । पोखराका सडकमा देखिएका गाई सहितका छाडा चौपायलाई हाल पुष्करिणी परोपकार गोकुलधाममा व्यबस्थापन गरिने भएको छ । पोखराको सडकमा यसरी छाडा गाई बस्तु छाडा छोड्दा पटक पटक सडक दुर्घटना हुने गाई बस्तु कहिले मर्ने त कहिले घाइते हुने समस्या हाल केही कम भएको प्रहरीले जनाएको छ ।