राष्ट्रिय आविष्कार केन्द्रलाई मुक्तिनाथ बैंकको सहयोग

-


     पोखरा क्लिक     
     पौष २२ गते २०८० मा प्रकाशित



काठमाण्डौं २२, पुष

मुक्तिनाथ विकास बैंक लिमिटेडले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो स्थापनाको १७औँ वर्ष पार गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको हो । यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरूलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि रु पाँच लाखको आर्थिक सहयोग गरेको छ । यसैगरी, बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन गरेको छ ।

बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरूमार्फत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बाल आश्रम तथा वृद्धाश्रममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टबिन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताजस्ता कार्यक्रमहरू सञ्चालन गरेको बैंकले जनाएको छ ।