प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी पुष २० देखि पोखरामा

-


     दीननाथ बराल    
     पौष १७ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पोखरा १७, पुस

कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले पोखरामा यही पुष २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म उक्त प्रदर्शनी हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

प्रदर्शनीमा ७० भन्दा बढी व्यावसायिक तथा सेवामुलक स्टलहरू हुने भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । उक्त कार्यक्रममा ४० जिल्लाका करिव ३० हजार सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो । १० बढी मुलुकबाट कृषि ओैजार, उपकरण तथा प्रबिधिहरू प्रदर्शनी एवं बिक्रि गरिने भएको संघले जनाएको छ । प्रदर्शनीमा न्यूनतम ५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने भएको छ । प्रदर्शनीमा करिब ५ करोड भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलर, सब–डिलरहरु, सरकारी एवं गैढ़ सरकारी संघ संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, अनुसन्धान संस्थाहरु सेवा प्रदायक कृष कृषक समूह, सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरूको सहभागीता हुने भएको छ ।

गण्डकी प्रदेशका, कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले उक्त प्रदर्शनीले यस क्षेत्रका किसानलाई राहत मिल्ने बताउनु भयो । प्रदेश सरकारको ५ लाखको बजेटमा उक्त कार्यक्रम हुन लागेको उहाँले बताउनु भयो । सो कार्यक्रम तराईमा गर्दा ५० लाख बजेट आए पनि पहाडी क्षेत्रमा प्रमोशन गर्न पोखरामा गरिएको उहाँको भनाई थियो । शहर केन्द्रित, विदेशजाने युवा, बादर लगायतको समस्याले धेरै क्षेत्रमा जग्गा बाझो भएको महानिर्देशक रेग्मीको भनाई थियो । पछिल्लो समयमा धेरै प्रविधिहरु भित्रिएकोले त्यसलाई नेपालीहरुले प्रयोगमा ल्याउन सक्दा कम लागतमा धेरै उत्पादन बढाउन सकिने उहाँले दाबी गर्नु भयो ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले रैथाने बाली संरक्षण सहित कृषि यात्रीकीकरणमा पहुच पुर्याउन यस्ता कार्यक्रमले सहयोग हुने बताउनु भयो । प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यबसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउबिजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने संघले जनाएको छ ।

गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय–मालेपाटन, पोखरा, पोखरा महानगरपालिका, पोखरा, कास्की, नेपाल सरकार, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र यस संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने वालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल÷अन्तरक्रिया हुने भएको छ ।