मुस्ताङ र जुम्लाको स्याउ पोखरामा सहुलियत मूल्यमा बिक्री, अमरदीपमा स्याउ मेला सुरु (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असाेज २९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २९ असोज,

मुस्ताङ र जुम्लामा उत्पादित स्थानीय स्याउ पोखरामा सहुलियत मूल्यमा बिक्री वितरण सुरु गरिएको छ । नेपालीहरूको महान् पर्व विजयादशमीलाई लक्षित गर्दै पोखरा महानगरपालिका–१६ र १९ को सिमाना अमरदीपस्थित देउराली कृषि फर्मले स्याउ मेला आयोजना गरी स्याउ बिक्री सुरु गरेको हो ।

मेलामा मुस्ताङ र जुम्लाका विभिन्न जातका स्याउ प्रतिकिलो १८० देखि २७० रुपैयाँसम्ममा उपलब्ध छन् । फर्मका सञ्चालक वासुदेव तिवारीका अनुसार गोल्डेन, रोयल र रेड डेलिसियस जातका स्याउ उपभोक्ताले खरिद गर्न सक्नेछन् । चाडपर्वका बेला खाद्यवस्तु तथा फलफूलमा मिसावट हुने समस्या देखिने भएकाले उपभोक्तालाई गुणस्तरीय र शुद्ध स्याउ उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको सञ्चालक तिवारीले बताउनुभयो । किसानबाट सिधै स्याउ खरिद गरी उपभोक्तासम्म पु¥याउँदा बिचौलियाको भूमिका कम हुने र उपभोक्ताले समेत सहुलियत मूल्यमा स्याउ पाउने उहाँको विश्वास छ ।

तिवारीले विगत तीन वर्षदेखि मुस्ताङ र जुम्लामा उत्पादित स्याउ सिधै खरिद गरी पोखरामा बिक्री वितरण गर्दै आउनुभएको छ । मुस्ताङको पाक्लिङस्थित छिरिङ कृषि तथा पशुपन्छी फार्म र जुम्लाको सिंजा क्षेत्रमा रहेको सिंजा कृषि तथा पशुपन्छी फर्मबाट स्याउ खरिद गरी पोखराका उपभोक्तासम्म पु¥याउने गरिएको उहाँले जानकारी दिनुभयो।

कृषिलाई आत्मनिर्भरता र व्यावसायिक आम्दानीको माध्यम बनाउँदै आउनुभएका तिवारीले आफ्नो परिवारका सदस्यलाई समेत कृषि व्यवसायमा संलग्न गराउनुभएको छ । उहाँका जेठा छोरा कृष्णहरि तिवारी पनि यस व्यवसायमा आबद्ध हुनुहुन्छ । किबी तथा अलैँची खेतीबाट समेत आम्दानी गर्दै आउनुभएका तिवारीले विभिन्न फलफूलबाट वाइन उत्पादन समेत गर्दै आउनुभएको छ ।

स्याउ मेलाको औपचारिक शुभारम्भ कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले मुस्ताङ र जुम्लामा उत्पादित स्याउ पोखराको अमरदीप क्षेत्रमा बिक्री वितरण सुरु हुनुले स्थानीय उपभोक्तालाई सहुलियत मूल्यमा स्याउ उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख युवराज गुरुङले स्थानीय स्याउको बजारीकरणलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटकको रुचि र आवश्यकताअनुसार स्याउका विभिन्न जात तथा परिकार उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनलाई उपहारका रूपमा समेत बजारमा प्रवद्र्धन गर्न सके पर्यटन र कृषि दुवै क्षेत्रलाई लाभ पुग्ने बताउनुभयो ।

त्यसैगरी, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषि उत्पादनको बजारीकरण र प्रवद्र्धनमा यस्ता मेला तथा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । चाडपर्वका समयमा खाद्यवस्तुमा हुन सक्ने मिसावटप्रति सचेत रहँदै व्यवसायीलाई व्यावसायिक मर्यादाभित्र रहेर कारोबार गर्न र उपभोक्तालाई पनि खरिद गर्दा सजग रहन उहाँले आग्रह गर्नुभयो ।

पोखरा व्यावसायिक प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले यस्ता कार्यक्रमले स्थानीय उत्पादनको बजार विस्तार गर्न तथा व्यवसायीलाई प्रोत्साहन दिन सहयोग पुग्ने बताउनुभयो । महानगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई व्यावसायिक प्रवद्र्धनका लागि सहयोग गर्दै आएको उहाँको भनाइ थियो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसानबाट सिधै उपभोक्तासम्म स्याउ पु¥याउने उद्देश्यसहित सुरु गरिएको यस मेलाले मुस्ताङ र जुम्लाका स्याउको बजार विस्तार गर्नुका साथै उपभोक्तालाई गुणस्तरीय फलफूल सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको युवा व्यवसायी कृष्णहरी तिवारीले बताउनु भयो ।



This will close in 20 seconds