नेलम्बो नेपालले पनि बाढी प्रभावितको लागि साँढे पाँच लाख सहयोग गर्यो

-


     पोखरा क्लिक     
     भाद्र १४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १४ भदौ,

सामाजिक संस्था नेलम्बो नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरा–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को यस परिस्थितीमा उक्त सहयोग गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताउनु भयो ।

कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा हातेमालो गर्ने निर्णयअनुसार संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको खातामा उक्त रकम जम्मा गरेको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । हालै देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र धेरै परिवार प्रभावित भएको भन्दै अध्यक्ष देवकोटाले विपद्को समयमा सबै पक्ष एकजुट भएर उद्धार, खोजी तथा राहत कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था र सहयोगी निकायलाई विपद्मा परेका नागरिकको सहयोगका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्दै नेलम्बो नेपालले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगलाई निरन्तरता दिने बताउनुभयो । भोटेकोशीमा आएको बाढीमा परी धेरै व्यक्तिहरु वेपक्ता भएकोले उहाँहरुको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा देवकोटाको जोड थियो ।

शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले यसअघि पनि विभिन्न विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको छ । कोभिड–१९ को विषम परिस्थितिमा गण्डकी प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै संस्थाले विपद् व्यवस्थापनमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक भिम भण्डारीले बताउनु भयो ।