
पोखरा,
कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित श्री माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित एकदिने निःशुल्क आँखा शिविरबाट करिब ५ सय जना लाभान्वित भएका छन्। पूर्व विद्यार्थी मञ्च, माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको आयोजनामा सम्पन्न शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका हुन् ।

पूर्व विद्यार्थी मञ्चको आयोजना, अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, हिमालयन आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोग तथा माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको स्थानीय व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा परीक्षण गराएका करिब ५ सय सेवाग्राहीमध्ये १६ जना विद्यार्थीलाई आवश्यक पावरअनुसार निःशुल्क चश्मा उपलब्ध गराउन हिमालयन आँखा अस्पतालमा पठाइएको छ। त्यस्तै, ६ जना अभिभावकमा मोतियाविन्दुको समस्या देखिएपछि निःशुल्क शल्यक्रियाका लागि हिमालयन आँखा अस्पतालमा रिफर गरिएको पूर्व विद्यार्थी मञ्चका सदस्य तथा निःशुल्क आँखा शिविरका संयोजक भीम प्रसाद भण्डारीले बताए ।
शिविरमा आवश्यकताअनुसार औषधि वितरण गर्नुका साथै अभिभावकहरूलाई पढ्नका लागि आवश्यक पावर भएका चश्मासमेत निःशुल्क वितरण गरिएको थियो। विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई एउटै थलोमा स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको पूर्व विद्यार्थी मञ्चले जनाएको छ । कार्यक्रमकी प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका उपप्रमुख चन्द्रकला अधिकारी देवकोटाले पूर्व विद्यार्थी मञ्चले विद्यालय र समुदायका लागि महत्वपूर्ण तथा उदाहरणीय काम गरेको बताइन्। उनले विभिन्न पक्षसँग आवश्यक समन्वय गरी शिविरलाई प्रभावकारी रूपमा सम्पन्न गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिइन्।आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्ता सेवाले प्रत्यक्ष राहत पुर्याउने उनको भनाइ थियो।
कार्यक्रमका सभापति तथा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष फणिन्द्र प्रसाद अधिकारीले पूर्व विद्यार्थी मञ्चले आयोजना गरे पनि आँखा शिविरलाई सबैको साझा कार्यक्रमका रूपमा लिइएको बताए। विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई विद्यालय र समुदायसँग थप नजिक जोड्ने उद्देश्यले मञ्चले हरेक वर्ष कुनै न कुनै रचनात्मक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । अध्यक्ष अधिकारीले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा पूर्व विद्यार्थी मञ्चले आफ्नोतर्फबाट निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। निःशुल्क मोतियाविन्दुको शल्यक्रिया तथा विद्यार्थीलाई उपलब्ध गराइने चश्माका कारण अभिभावक तथा परिवारको आर्थिक भारसमेत कम हुने भएकाले शिविरलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिने उनको भनाइ थियो ।
पूर्व विद्यार्थी मञ्चले २०६४ सालदेखि माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययन गरी अध्ययन पूरा गरेका पूर्व विद्यार्थीलाई संगठित गर्दै विभिन्न सामाजिक, शैक्षिक तथा रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। अध्यक्ष फणिन्द्र प्रसाद अधिकारीको नेतृत्वमा मञ्चले विद्यालय तथा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल, अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारी, पूर्व विद्यार्थी मञ्चका निवर्तमान अध्यक्ष विष्णु प्रसाद अधिकारी, संस्थापक अध्यक्ष गिरिधारी दाहाल, पूर्व अध्यक्ष गायत्री अधिकारी पराजुली, क्याम्पस प्रमुख लोकराज भण्डारी, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारी लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य मञ्चका सदस्य तथा संयोजक भण्डारीले राखेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव हरि प्रसाद भण्डारीले गरेका थिए।
शिविर सम्पन्न भएपछि पूर्व विद्यार्थी मञ्चका कोषाध्यक्ष कमला पौडेल सुवेदी तथा सदस्यहरू कृष्ण प्रसाद भण्डारी, शोभाखर अधिकारी र हरिराम भण्डारीको उपस्थितिमा कार्यक्रमको समीक्षा बैठकसमेत सम्पन्न भएको थियो। बैठकमा शिविरबाट प्राप्त उपलब्धि, सेवाग्राहीको सहभागिता तथा आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । विद्यालयका पूर्व विद्यार्थीहरूले आफ्नो पुरानो शैक्षिक संस्थासँगको सम्बन्धलाई सामाजिक सेवामार्फत जोड्दै आयोजना गरेको उक्त शिविरले विद्यार्थी तथा अभिभावकको स्वास्थ्यसँगै आर्थिक भार कम गर्नसमेत महत्वपूर्ण योगदान पुर्याएको संयोजक भण्डारीले विश्वास व्यक्त गरे ।





