
दीननाथ बराल,
पोखरा, वैशाख,
मानवीय सेवामा समर्पित मानव सेवा आश्रम, पोखराले निर्माणाधीन संरचनाहरूलाई पूर्णता दिन आर्थिक संकलनसँगै आध्यात्मिक जागरण फैलाउने उद्देश्यले विशेष महायज्ञ आयोजना गर्ने तयारी गरेको छ। यही वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमार्फत करिब ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पोखरा–२५ हेम्जास्थित बाबियातहरामा अवस्थित आश्रम परिसरमा हुने उक्त महायज्ञमा वालवालिका देखि बृद्धसम्म गरी सबै उमेर समूहका सहभागीलाई केन्द्रमा राखेर कार्यक्रमहरू तय गरिएका छन्। विद्यार्थीदेखि बृद्धबृद्धासम्मलाई समेट्ने गरी धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू सञ्चालन गरिने भएको हो । महायज्ञबाट संकलित रकम आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिरलाई पूर्णता दिन, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष विस्तारमा खर्च गरिने लक्ष्य राखिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभएको छ ।
कार्यक्रम अवधिभर कथा वाचनसँगै शोभा कलश यात्रा, भजन–कीर्तन, सांस्कृतिक झाँकी, योग शिविर तथा निःशुल्क स्वास्थ्य शिविर जस्ता गतिविधिहरू सञ्चालन गरिनेछन्। साथै पञ्चायन पूजा, तुलादान, ग्रहशान्ति र पितृ उद्धारजस्ता धार्मिक अनुष्ठानहरू पनि समावेश गरिएका छन्। बिहान भजन प्रतियोगिता, दिउँसो कथा प्रवचन र साँझ सांस्कृतिक कार्यक्रमको तालिका तय गरिएको छ। भागवत भाष्कर कमलनयन गौतमले दैनिक कथा वाचन गनुर््हुने छ भने जसका लागि उहाँले कुनै पारिश्रमिक नलिने प्रतिबद्धता जनाउनुभएको आश्रम श्रोतले जनाएको छ।
हाल मानव सेवा आश्रमले देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब २ हजार २ सय सहयोगापेक्षी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ। पोखराका दुई केन्द्रमा मात्रै करिब ३ सय जना आश्रित रहनु भएको छ । करिब ८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आश्रमको संरचना अझै पूर्ण नभएकाले बाँकी करिब ४ करोड बराबरको काम सम्पन्न गर्न महायज्ञमार्फत आवश्यक स्रोत जुटाउने लक्ष्य लिइएको छ। यसमा पोखरा महानगर र गण्डकी प्रदेश सरकारले एक ÷एक करोड भन्दा बढी सहयोग प्राप्त भएको छ भने अन्य विभिन्न दाताबाट सहयोगमा विभिन्न भौतिक संरचना निर्माण भएका हुन् ।
यसैबीच, आध्यात्मिक योग विज्ञान शिविर पनि सञ्चालन हुने भएको छ, जहाँ एकैपटक ५ सय जनासम्म सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ। वरिष्ठ योग प्रशिक्षक ललित शंकर योगीले शिविरको सहजीकरण गर्ने कार्यक्रम तय गरिएको सामाजिक अभियान्ता सुस्मा पौडेलले बताउनु भयो । मानवता प्रवर्द्धनको उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा सक्रिय सहभागिता जनाउन आश्रमले आवहान गरेको छ ।




