
दीननाथ बराल,
पोखरा २४, वैशाख,
गण्डकी प्रदेशको ग्रामिण पर्यटन प्रवद्र्धनका लागि पोखरामा ‘ग्रामिण पर्यटन मार्ट’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरामा आउँदो जेठ महिनाको ९ र १० गते उक्त कार्यक्रम हुने भएको पर्यटन बोर्डले जनाएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लाका कम्तिमा एक जिल्लाबाट दुई वटा होमस्टेहरुलाई पोखरासम्म ल्याउदै उक्त क्षेत्रका होमस्टे सहित त्यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको समेत प्रबद्र्धन गरिने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बताउनु भयो । उहाँले भन्नुभयो“पर्यटनको राजधानि पोखरा पर्यटनको ट्रान्जिट प्वाइट भएकोले यस क्षेत्रका होमस्टे सहित हालै संचालनमा आएका पर्यटकीय कुनै पनि गतिविधिलाई हामीले प्रचार प्रसार तथा प्रबद्र्धन गराउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेका हौं । ”
हालै संचालनमा आएका होमस्टे तर प्रचार प्रसारको अभावमा ओझेलमा परेका सम्भावना भएका होमस्टेहरुको प्रचार प्रसार सहित प्रबद्र्धन गर्नु बोर्डको मुख्य उद्धेश्य रहेको प्रमुख लामिछानेले जनाउनु भयो । आवेदन आएका होमस्टेहरुको छनौट गरी कम्तिमा २२ वटा होमस्टेलाई व्यबसायीक प्रबद्र्धनको लागि स्टल सहितको व्यबस्थापन गर्ने गरी तयारी गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । गाउँ पर्यटन प्रर्बद्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेशको सह आयोजनामा, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा पर्यटन परिषद तथा होमस्टे (घरवास) महासंघ नेपाल (होफेन) गण्डकी प्रदेशको सहकार्यमा उक्त कार्यक्रम हुने भएको हो ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले एक सूचना जारी गर्दै गण्डकी प्रदेश भित्रका सामुदायिक होमस्टे, फर्म, कम्पनी तथा गैरसरकारी संस्थाहरुलाई सहभागिताका लागि आवेदन दिन आव्हान समेत गरेको छ । इच्छुक संस्थाहरूले यही वैशाख २६ गतेभित्र आवेदन दिन सक्नुहुने छ ।
सहभागिताका लागि आवश्यक कागजातहरूमा संस्था÷फर्म÷कम्पनी दर्ताको प्रमाणपत्र (नवीकरण सहित ), स्थायी लेखा नम्बरको प्रमाणपत्र र आ.व. ०८०÷८१ को कर चुक्ता प्रमाणपत्र (नयाँ दर्ता भएकाका लागि आवश्यक नपर्ने) पर्यटन वोर्डले जनाएको छ ।



