
पोखरा, साउन २,
पोखरा फोटोग्राफर सङ्घले आफ्नो ४५औँ स्थापना दिवस सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत सङ्कलन गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शनिबार पोखरा महानगरपालिका–८ स्थित मानवअधिकार चोकमा सम्पन्न कार्यक्रममा ४६ जना सहयोगी मनका धनि रक्तदाताले रक्तदान गरेका हुन्।

“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित आयोजित कार्यक्रमको उद्घाटन कैलास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीले सङ्घका संरक्षक एवं ७३औँ पटक रक्तदान गर्नुभएका गणेशलाल श्रेष्ठ (छवि)लाई ब्लड ब्याग हस्तान्तरण गरेर गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले रक्तदानले बिरामीको जीवन बचाउन प्रत्यक्ष योगदान पुर्याउने उल्लेख गर्दै समाजमा मानवीय सेवाको संस्कृतिलाई थप सुदृढ बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराकी स्टाफ नर्स यमुना केसीले पोखरामा पछिल्लो समय रगतको अभाव बढ्दै गएको जानकारी दिँदै स्वस्थ नागरिकलाई नियमित रूपमा ३ महिनामा रक्तदान गर्न आग्रह गर्नुभयो। उहाँले विशेषगरी एबी पोजेटिभ रक्तसमूहको अभाव देखिएकाले विभिन्न सङ्घ–संस्थाले नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा नेपाल फोटोग्राफर महासङ्घका केन्द्रिय उपाध्यक्ष दुर्गाप्रसाद पौडेल, फोटोग्राफर सङ्घ गण्डकीका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमल पौडेल अथक, तथा लायन्स क्लब अफ पोखरा दर्पणका अध्यक्ष अग्निधर तिमिल्सिना लगायतले रक्तदानले रगतको अभाव न्यूनीकरणका साथै मानवीय सेवाको भावना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
सङ्घका अध्यक्ष भक्तबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नन्दकला पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव लक्ष्मीपति पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। यसैबीच, स्थापना दिवसको अवसरमा सङ्घले पाँचौँ फोटोग्राफी अवार्डको घोषणा पनि गरेको छ। सङ्घका कोषाध्यक्ष अग्निधर तिमिल्सिनाका अनुसार विभिन्न नौ विधामा उत्कृष्ट नौ जना फोटोग्राफरलाई आगामी भदौ महिनामा आयोजना गरिने विशेष समारोहमा सम्मान तथा अवार्ड प्रदान गरिनेछ। सामाजिक उत्तरदायित्व र व्यावसायिक उत्कृष्टतालाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम र फोटोग्राफी अवार्ड घोषणालाई स्थापना दिवससँग जोडिएको सङ्घले पोखराक्लिकलाई जनाएको छ।






