
रामेछाप,
रामेछाप नगरपालिका–२ देउराली अन्तर्गत सिरुबारीमा निर्वाचन टोली बोकेको गाडी आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते हुनु भएको छ । फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा खटिएको टोली लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको हो।
दुर्घटनामा प्रहरी सहायक निरीक्षक आरपी यादवको घटनास्थलमै ज्यान गएको थियो भने साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रका निर्वाचन अधिकृत तथा रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरेको मन्थली अस्पतालमा उपचार भइरहेका बेला निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये सब्बरबहादुर मानन्धर (४७) भीमबहादुर मानन्धर, सविना खड्का (२८), केदारकुमार रोक्का (४७), कृष्णप्रसाद घिमिरे तथा दुर्गा कार्कीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
उक्त गाडी देउराली र साघुटारका तीन वटा मतदान केन्द्रका निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली लिएर गइरहेको थियो। मावि देउरालीमा सामग्री बुझाएर सिरुबारी तथा हिमगङ्गा मावि साघुटारका केन्द्रतर्फ जाँदै गर्दा गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले बताउनुभयो। गाडीमा जम्मा ११ जना सवार रहेको प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिनुभयो। दुर्घटना हुनुअघि तीन जना गाडीबाट हाम फाल्न सफल भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



