
दीननाथ बराल,
पोखरा, २३ कार्तिक,
कास्कीको माछापुच्छ्रे गाउँपालिका भित्र रहेका धेरै पर्यटकीय गन्तव्य ओझेलमा परेको जनप्रतिनिधि तथा स्थानीयवासीले गुनासो गर्नु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे–६ ह्याङजाकोटमा आयोजित ‘माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पोखराको मुख्य बजार क्षेत्रसँग नजिक रहेर पनि गाउँपालिकाका आकर्षक गन्तव्य प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बताउनु भएको हो ।
पर्यटनको राजधानि पोखरासंगै जोडिएको र सडक संजालको राम्रो पहुच भएको माछापुच्छ«ेका अधिकांश स्थानबाट माछापुच्छ्रे सहितको हिमश्रृखलाहरु देख्न सकिने भएकोले यहाँ पर्यटनको अथाह सम्भावना रहेको वक्ताहरुले जनाउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले गाउँपालिकाभित्र धेरै सम्भावना बोकेका पर्यटकीय स्थलहरू रहेको तर प्रचार–प्रसारको अभावमा ती गन्तव्य ओझेलमा परेको गुनासो गर्नुभयो । “गाउँपालिकाका लोकप्रिय स्थलहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो “अब हामी विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना सहित नयाँ गन्तव्यको खोजी र पूर्वाधार व्यवस्थापनमा जुटेका छौं । ” मर्दी हिमाल र कोरी पद मार्गमा पर्यटनको सिजना अत्याधिक पर्यटकहरुको भिडभाड हुने हुँदा सिजना पहिला खबर गरेर मात्र आउनु पर्ने अन्यथा बस्ने ठाँउको अभाव हुने गरेको अध्यक्ष गुरुङले जनाउनु भयो ।
गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले पर्यटन विकासका लागि सुझाव र सहकार्य गर्न सबैलाई आग्रह गर्नुभयो । ए क्यापका कारण आफुहरुले चाहेर पनि पालिकामा धेरै पर्यटन पूवर्धार निर्माण देखि कृषि प्रबद्र्धन गर्न समेत कठिनाई भएको दाबी गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले पालिकामा खेलकुद र पर्यटन दुबैको उत्तिकै सम्भावना रहेको दाबी गर्नुभयो । वडाको १ को खुमै डाँडा र ९ को मर्दी हिमाल सहित वडा दुर्गम क्षेत्र भए पनि उत्तिकै पर्यटनको सम्भावना रहेको जनाउनु भयो । अघिल्ला बर्षमा बार्षिक १६ करोड राजश्व संकलन भएको पालिकामा पछिल्लो समयमा एक्यापका कारण १ करोड २५ लाख मात्र राजश्व संकलन भएको जनाउनु भयो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एम.बी. आस्था मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष टेकनाथ गौतम, ह्याङजाकोट सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र महासंघ कास्कीका अध्यक्ष माधव बराल, मञ्चका उपाध्यक्ष राजाराम पौडेल, महासचिव परशुराम शर्मा लगायतले माछापुच्छ«े गाउँपालिकाको कृषि पर्यटन, खेलकुद पर्यटनको अथाह सम्भावना रहेको दाबी गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि,स्थानीय निकायका प्रतिनिधि, पत्रकार, सरोकारवाला र पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । सहभागिहरुलाई स्थानिय आमा समुह तथा होमस्टेका प्रतिनिधिहरुले फुलमालाले भव्य स्वागत गर्नु भएको थियो ।
दृष्टिविहीन क्रिकेटर विनिता पुनलाई सम्मान
अन्तरक्रियाको अवसरमा नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई नगदसहित सम्मान गरिएको छ । भारत र श्रीलङ्कामा आगामी नोभेम्बर १२ देखि २३ सम्म हुने पहिलो टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि चयन हुुनु भएको विनितालाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नगद रु. ७ हजार ७ सय ७७ सहित सम्मान गरेको हो ।
माछापुच्छ्रे गाउँपालिका–१ की बासिन्दा विनिता अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो नेपाली दृष्टिविहीन खेलाडी हुनुहुन्छ । उनलाई गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ र मञ्च गण्डकीका अध्यक्ष एम.बी. आस्था मगरले संयुक्त रूपमा सम्मान गर्नु भएको हो । उक्त अवसरमा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्षमा हालै चयन हुनु भएको दीपक गोदारलाई समेत कार्यकालको सफलताको कामना सहित स्वागत सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।





