कुमुदिनी होम्समा वादविवाद प्रतियोगिता

-


     पोखरा क्लिक     
     कार्तिक २३ गते २०८२ मा प्रकाशित


पोखरा, २३ कात्तिक,

पोखरा महानगरपालिका–४ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिका अनुसार आइतबार तहगत रूपमा नेपाली वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । आज सम्पन्न पहिलो चरण अन्तर्गतको आधारभूत तह स्तरीय प्रतियोगिता विद्यालयकी आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । प्रतियोगितामा कक्षा ७ ‘ख’ का आदित्य खत्री प्रथम, कक्षा ७ ‘ग’ की संस्कृति गैह्रे द्वितीय, कक्षा ८ ‘क’ की प्रतिष्ठा के.सी. तृतीय र कक्षा ७ ‘क’ की आयुषा लामा सान्त्वना स्थानमा रहेका छन् ।

प्रतियोगी विद्यार्थीहरूले “सहरीया जीवनभन्दा गाउँले जीवन प्रेरणादायी र रमणीय हुन्छ” भन्ने विषयमा पक्ष–विपक्षका तर्क प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम कक्षा ६ की विद्यार्थी नस्विना गौतमले सञ्चालन गरेकी थिइन् । त्यस्तै, माध्यमिक तह (कक्षा ९ देखि १२) अन्तर्गत दोस्रो चरणको वादविवाद प्रतियोगिता शिक्षक मनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भयो । यस चरणमा विद्यार्थीहरूले “वैदेशिक रोजगारी दीर्घकालीन समस्याको समाधान होइन” भन्ने विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा कक्षा ११ (विज्ञान संकाय) की अञ्जली के.सी. प्रथम, कक्षा १० ‘ग’ का प्रतीक पौडेल द्वितीय, कक्षा ९ ‘ग’ की दिव्या आचार्य तृतीय र कक्षा १० ‘ख’ का सक्षम गैह्रे सान्त्वना स्थानमा चयन भएका थिए । कार्यक्रममा शिक्षक इन्द्रराज बराल, उमा पोख्रेल र दीपक के.सी. निर्णायकको भूमिकामा रहनु भएको थियो । शिक्षक श्रवणकुमार तिमिल्सिना र विशाल विक्रम बस्नेतको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमको समन्वय शिक्षक सुरेन्द्र सदिच्छाले गर्नुभएको विद्यालयले जनाएको छ ।