हुलाक सेवालाई समय अनुकूल बनाउन सुझाव,देशका ४५ जिल्लामा ईएमएस सेवा

-


     पोखरा क्लिक     
     कार्तिक २१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २१, कार्तिक,

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालको हुलाक सेवालाई समय अनुकूल र प्रभावकारी बनाउन सुझाव दिनुभएको छ । हुलाक सेवा विभागले शुक्रबार पोखरामा आयोजना गरेको द्रुत डाँक सेवा (ईएमएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वोल्दै उहाँले नीजि क्षेत्रसंग प्रतिष्प्रर्धा हुने गरी सरकारी हुलाक सेवालाई परिकृत र परिमार्जन गरी चुस्त दुरुस्त सेवा दिन सुझाव दिनुभएको हो ।

उहाँले भन्नुभयो— “निजी क्षेत्रले सरकारी हुलाकको सहायतामा विश्व बजारमा सेवा दिइरहेको छ, त्यसैले सरकारी हुलाक सेवालाई अझ सबल र परिणाममुखी बनाउनु जरुरी छ ।” पौडेलले निजी क्षेत्रका सेवाहरू महँगा भएकाले सरकारी हुलाकलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिदै लामो इतिहास बोकेको र विश्वसनीयतायुक्त यस सेवालाई जोगाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । “सरकारका अंगहरू जनतामुखी सेवामा केन्द्रित हुनुपर्छ,” प्रमुख पौडेलले थप्नुभयो।

त्यस अवसरमा जिल्ला समन्वय अधिकारी नवराज बरालले आवश्यक समन्वयका लागि समिति सधैं तयार रहेको जनाउँदै नागरिक सचेतना सम्बन्धी विषय सामाजिक अध्ययनको पाठ्यक्रममा समावेश गर्न आग्रह गर्नुभयो । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले स्थानीय सेवालाई विश्वभर विस्तार गर्ने अभियानमा विभाग सक्रिय रहेको बताउनुभयो। उहाँका अनुसार स्वदेशमा उत्पादित वस्तु तथा सेवाहरू हुलाक मार्फत विदेशमा निर्यात गर्न सकिने सम्भावना छ, त्यसका लागि हुलाक सेवालाई परिमार्जन गर्दै लैजाने योजना अघि बढाइएको छ । हालसम्म नेपालमा करिब १ हजार ५ सयवटा हुलाक टिकट विभिन्न प्राकृतिक, सांस्कृतिक धरोहर, मठ–मन्दिर, पर्यटकीय गन्तव्य, राष्ट्रिय व्यक्तित्व र सम्पदालाई समेटेर छापिएका छन्। हुलाक टिकटमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुगेको उहाँको दाबी थियो । कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक लीलाराज पौडेल र शाखा अधिकृत शालिकराम बस्यालले ईएमएस सेवासम्बन्धी आफ्ना–आफ्ना प्रस्तुति राख्नुभएको थियो । देशका ४५ जिल्लामा ईएमएस सेवा पुगेको छ भने उक्त सेवा लिदा सेवा प्रभावित भएको खण्डमा क्षतिपुर्तिको समेत व्यबस्था रहेको कार्यालयले जनाएको छ ।

यसैबीच, हुलाक निर्देशनालय पोखराका निर्देशक नारायण प्रसाद आचार्यले जेनजी आन्दोलनका क्रममा पोखरामा हुलाक सेवामा करिब ६ करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रपुल कार्यालयको सेवा हाल ठप्प भएको छ भने पार्दी कार्यालयबाट नियमित सेवा सञ्चालन भइरहेको छ । कार्यक्रममा गण्डकी प्रदेशका जिल्ला हुलाक कार्यालयका प्रतिनिधि देखि विभिन्न संघ संस्था संचारकर्मीहरुको सहभागिता रहेको थियो ।