
दीननाथ बराल,
पोखरा २०, कार्तिक,
कोभिड १९ देखि स्थगित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगितालाई पुनः निरन्तर रुपमा संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्तहरुले जोड दिनु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को विहिबार पोखरामा सम्पन्न भएको २२ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले करिब ६ बर्ष अघि देखि स्थगित भएको उक्त प्रतियोगितलाई निरन्तर रुपमा संचालन गर्न ना लाई आग्रह गर्नु भएको हो ।

साहसिक खेलकुदको मुख्य गतिविधि चलायमान बनाएको यस खेललाई अझ अन्तराष्ट्रिय स्तरमा ब्यापक प्रचार प्रसार गर्नको लागि पनि प्रतियोगिता आवश्यक भएको आवश्यक सहयोग र समन्वय गर्न आफुहरु तयार रहेको सरोकारवालाहरुले वचन दिनु भएको छ । २० औं संस्करणसम्म सम्पन्न भएको खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिता कोभिड देखि हालसम्म संचालन हुन सकेको छैन । २०७९ मा पोखरामा भएको राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाईडिङ दुर्घटनामा परी निसिम थापाको निधन भएसंगै नागरिक उड्डयन प्राधिकरणले पोखरामा सोलो प्याराग्लाईडिङको अनुमति दिएको थिएन तर केही महिना अघि मात्र यसलाई खुल्ला गरेको हो ।
पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपी बहादुर भट्टराईले नियमित रूपमा पोखरामा हुँदै आएको खुला प्याराग्लाइडिङ प्रतियोगितालाई निरन्तरता दिन ना लार्ई आग्रह गर्नुभयो । भट्टराईले विभिन्न निकायमा बजेट विनियोजन भइसकेको अवस्थामा प्रतियोगिता सञ्चालन नहुनु संस्थाको नेतृत्वप्रति नै प्रश्न उठाउने विषय भएको बताउनुभयो । खेलकुद प्रतियोगिताहरू समयमा नहुँदा र पटकपटक मिति सारिँदा खेलाडीहरूको भविष्य नै अन्योलमा परेको उहाँको गुनासो थियो ।
पोखरालाई “नेचर, कल्चर र एडभेन्चर” को सन्तुलित गन्तव्यका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै भट्टराईले एडभेन्चर बिना पोखराको पर्यटनको कल्पना गर्न नसकिने बताउनुभयो । पोखरा भ्रमण वर्षको तयारी अन्तर्गत विभिन्न डिजिटल प्लेटफर्ममार्फत पोखराको प्रवद्र्धन भइरहेको उल्लेख गर्दै उहाँले विश्वकै उत्कृष्ट ट्रेकिङ ट्रेलहरू डोजरले मासिँदै जानु चिन्ताजनक रहेको टिप्पणी गर्नुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले विगतका वर्षहरूमा हुँदै आएको प्याराग्लाइडिङ प्रतियोगिता निरन्तरता दिन सुझाव दिँदै २०७७ सालदेखि फेडेरेशन अफ एरोनोटिकल इन्टरनेशनल (एफएआई) मा ना को नवीकरण नहुनुले समग्र पोखरेली पर्यटनलाई असर पु¥याएको बताउनुभयो । यसलाई छिट्टै नवीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रबद्र्धन गर्न नेपाल पर्यटन बोर्ड तयार रहेको उहाँको भनाई थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सोलो प्याराग्लाइडिङमा सीमा निर्धारण गर्नुपर्ने माग गर्दै जेनजी आन्दोलनबाट प्रभावित व्यवसायलाई पुनर्जीवन दिन सबै पक्ष एक भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक योगेन्द्र बहादुर कुँवरले नयाँ स्थानमा सरिसकेपछि पोखराको प्याराग्लाइडिङ गतिविधि क्रमशः पुरानो लयमा फर्किंदै गएको बताउनुभयो । उहाँले पोखराका दुई विमानस्थलबाट हुने उडान गतिविधि — अल्ट्रालाईट, प्याराग्लाइडिङ र स्काईडाइभिङ — का सुरक्षामा कुनै कसर बाँकी नराखिएको स्पष्ट पार्दै, ना लाई विशेष अधिकार दिइएको भएकाले समय सापेक्ष नीति तथा मापदण्ड पालना गर्न सुझाव दिनुभयो ।
गण्डकी प्रदेश सरकारले पर्यटन शुल्कबापत ५ प्रतिशत लिने तयारी गरिरहेको प्रसंग उल्लेख गर्दै ना का महासचिव बलराम आचार्यले त्यसको पुनर्विचार वा संशोधन गर्न माग गर्नुभयो । उहाँले सरकारलाई एकद्वार प्रणालीबाट कर संकलन गर्न पनि आग्रह गर्नुभयो । ना का अध्यक्ष अनिल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, ना का वरिष्ठ उपाध्यक्ष खेमराज आचार्य लगायतले पोखराको प्याराग्लाइडिङ क्षेत्र विस्तार गर्न र पुरानै स्थान सराङकोटबाट पुनः उडान सुरु गर्न सुझाव दिनु भयो ।





