
दीननाथ बराल,
पोखरा, १८ कार्तिक,
दुई पटक स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक तेस्रो पटक यही कार्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ। गण्डकी प्रदेश सभा सचिवालयले मंगलबार सूचना जारी गर्दै बैठक मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने जनाएको हो।
प्रदेश सभा सचिव गोविन्द पौडेलका अनुसार बैठक विशेष कारणवश स्थगित भएको भए पनि अब नयाँ मिति निश्चित गरिएको छ ।यसअघि असोज २२ र भदौ २५ मा तोकिएका बैठकहरू ‘जेन–जी आन्दोलन’का क्रममा प्रदेश सभा भवनमा भएको आगजनीका कारण स्थगित भएको हो । पोखराको नदीपुरस्थित भवन पूर्ण रूपमा जलेपछि वैकल्पिक रूपमा कृषि मन्त्रालयको सभाहलमा बैठक बस्ने तयारी गरिएको सचिवालयले पोखराक्लिकलाई जनाएको छ।
सभामुख कृष्णप्रसाद धितालले आन्दोलन र पछिल्ला राजनीतिक परिस्थितिका कारण नयाँ स्थानमा बैठक सञ्चालन गर्न केही समय लागेको बताउनु भयो ।





