वर्षा र हिमपातको सम्भावना रहेकोले अत्यावश्यक बाहेक घर बाहिर यात्रा नगर्न र पद मार्गमा नजान प्रशासनको आग्रह

-


     पोखरा क्लिक     
     कार्तिक १३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १३ कार्तिक,

अहिलेको अबस्थामा वर्षा र हिमपातको सम्भावना रहेकोले अत्यावश्यक बाहेक घर बाहिर यात्रा नगर्न र पद मार्गमा नजान कास्की प्रशासनले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै प्रतिकुल मौसममा अत्यावश्यक बाहेक घर बाहिर यात्रा नगर्न र पद मार्गमा नजान आग्रह गरेको हो ।

प्रशासनले बिहीबार विज्ञप्ति जारी गर्दै मौसम सामान्य नभएसम्म उच्च हिमाली पदमार्गतर्फ ननिस्किन अनुरोध गरेको हो । प्रतिकूल मौसमका कारण हुन सक्ने बाढी, पहिरो, डुबान, सडक अवरोध र हिमपातजस्ता जोखिमलाई न्यूनिकरण गर्न रातको समयमा यात्रा नगर्न र हिमाली पदमार्गमा ननिस्किन अनुरोध गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शमाले बताउनु भयो ।

अन्नपूर्ण बेसक्याम्प, मर्दि हिमाल, खुमै डाँडा, कोरी लगायतका पदमार्गमा हिमपातको उच्च जोखिम रहेको उहाँले जनाउनु भयो । मौसममा सुधार नआएसम्म पदयात्रा स्थगित गर्न तथा यात्रु र पर्यटकलाई सुरक्षित स्थानमा राख्न सम्बन्धित निकायहरूलाई समन्वय गर्न प्रशासनले सबैमा आग्रह गरेको छ ।

त्यस्तै, कास्कीका पर्यटकीय गाउँहरु बिरेठाँटी–घान्द्रुक, बिरेठाँटी–उल्लेरी, लुम्ले–लान्दुक र काहुँखोला–ताङतिङ–सिक्लेस लगायतका सडकखण्डमा विहिबार साँझ देखि भोलि बिहान ६ बजेसम्म सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

प्रशासनले राष्ट्रिय राजमार्ग र ग्रामीण सडकमा सवारी साधन संयमतापूर्वक चलाउन, क्षमताभन्दा बढी यात्रु नचढाउन र जोखिमपूर्ण क्षेत्रमा नजान यातायात व्यवसायीहरूलाई सचेत गराएको छ । त्यस्तै, स्थानीय तह, पर्यटन व्यवसायी, होटल तथा ट्रेकिङ एजेन्सीहरू, नागरिक समाज र सुरक्षाकर्मीहरूलाई मौसम पूर्वानुमानका आधारमा आवश्यक तयारी र समन्वयमा जुट्न आग्ह गरेको छ ।

कुनै विपद्जन्य घटना भएमा नेपाली सेना (०६१–५८११६०, ९७६३२४६०२२), नेपाल प्रहरी (१००, ९८५६०३९५९९), सशस्त्र प्रहरी बल (०६१–५४४०८८, ९८५१२७२०८०) वा नजिकको प्रहरी इकाइमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ । पोखरा क्षेत्रमा केही दिन देखि पानी परेका कारण यहाँ चिसो भएको महशुस गरिएको छ ।