
पोखरा,
मासवारस्थित स्टेप बाइ स्टेप माध्यमिक विद्यालयले कक्षा ११ मा अध्ययन सुरु गर्ने नवआगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ आकर्षक स्वागत संगीतबाट गरिएको थियो। संस्थापक प्राचार्य निर्मला बरालले विद्यालयको विगतको सफल शैक्षिक यात्रा र उपलब्धिहरूको समीक्षा गर्दै नयाँ विद्यार्थीसँग अनुशासन, मेहनत र इमानदारिताका साथ भविष्यतर्फ अघि बढ्न आग्रह गरिन्।
संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालय स्थापना पछाडिका उद्देश्य, शैक्षिक सुधारका लागि गरिएको लगानी र आगामी योजनाबारे धारणा राख्दै गुणस्तरीय शिक्षामार्फत विद्यार्थीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यमा विद्यालय केन्द्रित रहेको बताए। सहप्राचार्य दीपक गिरिले विद्यार्थीलाई अवसरको अधिकतम उपयोग गर्न प्रेरित गरे भने विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले शैक्षिक तथा सह–शैक्षिक गतिविधिबारे जानकारी दिँदै नेतृत्व र सिर्जनशीलताको विकासमा सक्रिय रहन विद्यार्थीलाई प्रोत्साहित गरे।
कक्षा ११र१२ का संयोजक रघुनाथ वाग्लेले प्लस टु तहको गतिविधि, कक्षा सञ्चालन र मूल्यांकन प्रणालीबारे प्रकाश पार्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरे। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रंगीन बनाएको थियो। नृत्य, गीत, कविता तथा मन्तव्यमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरे। कक्षा १२ का अनुप गिरि, सन्देश यादव, यश थापा मगर र गौरव लामिछानेले साङ्गीतिक प्रस्तुति दिएका थिए भने तृप्ती खत्री, शुभेक्षा आचार्य, सन्ध्या जिरेल, तृप्ती सुनार र आश्रीया भट्टराईले स्वागत नृत्य प्रस्तुत गरे। कक्षा १२ की रोशनी केसिले आकर्षक नृत्य प्रस्तुत गरिन् भने सालिन श्रेष्ठ र हिमान्शु सापकोटाले स्वागत मन्तव्य दिए। स्नेहा रिजालले धन्यवाद मन्तव्य दिइन्।
नवआगन्तुकतर्फबाट मेधावी छात्रा राशिका श्रेष्ठले मन्तव्य राख्दै नयाँ सत्रप्रति उत्साह व्यक्त गरिन्। कार्यक्रम सञ्चालन आश्रीया भट्टराई, रानी कुँवर, आयु पाठक, रस्बी लामिछाने र लक्ष्मी श्रेष्ठले गरेका थिए। विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुति र अनुशासनबाट विद्यालय व्यवस्थापन उत्साहित देखिएको थियो। विद्यालय परिवारले गुणस्तरीय शिक्षाद्वारा विद्यार्थीलाई प्रतिस्पर्धी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक शैक्षिक सत्रमा नवआगन्तुकलाई स्वागत गर्ने परम्परा निरन्तर रहने बताएको छ।





