
दीननाथ बराल,
पोखरा ४, साउन,
गएराती परेको अविरल वर्षातसँगै आएको बाढीले पोखरा १६ गल्छिना भन्ने स्थानमा रहेको एक कुखुरा फार्ममा क्षति पुगेको छ । विनोद आचार्यले सञ्चालनमा ल्याएको कृषि योजना फार्ममा रहेका ८ सय कुखुरा मध्ये १ सय ५० वटा कुखुरा गएरातीको बाढीले गर्दा मर्न पुगेको आचार्यले पोखराक्लिकलाई बताउनु भयो ।
बोइलर कुखुरा त्यसमाथि हिलो सहित आएको बाढीले गर्दा डुबानमा परेर १ सय ५० वटा कुखुरा मर्न पुगेको उहाँले जनाउनु भयो । बाँकी कुखुरालाई अन्य खोरमा सारिएको यद्यपी केही कुखुरा मर्न सक्ने आचार्यले उल्लेख गर्नुभयो । विगत ६ वर्षदेखि व्यावसायिक कुखुरा पालन व्यवसायमा लाग्दै आउनु भएका आचार्यले यसपालिको बाढी पहिरोको कारण २ लाख ५० हजार भन्दा बढी क्षति व्यहोर्न परेको उहाँले गुनासो गर्नुभयो।
बोइलर कुखुराको बीमा गर्न सहज नभएका कारण आफू यसपालि ठूलो नोक्सानी व्यहोर्नु परेको संचालक आचार्यले बताउनुभयो। पोखरामा हिजोआज जिउँदो कुखुरा २ सय २० प्रति केजी होल चिकेन ३ सय १० र कटिङ ३ सय ६० रूपैया मूल्य रहेको छ ।
गएराति आएको बाढी र पहिरोको कारण पोखरा १६ क्षेत्रमा ११ घर विस्थापित भएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताउनु भयो । त्यसैगरी अर्मला क्षेत्रको सडक समेत अवरुद्ध भएका कारण सडक खुलाउने कार्य जारी रहेको उहाँले जनाउनु भयोे । विनोद आचार्य सहित तीनवटा व्यावसायिक कुखुरा तथा वंगुर फर्ममा गएरातीको बाढीको कारण क्षति पुगेको उहाँले बताउनुभयो।
त्यसै गरी पोखरा २० र पोखरा १३ मा समेत केही घरका कोठाहरु बगाएको छ भने सो क्षेत्रमा ठुलो धनको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरि बहादुर बस्नेतले बताउनु भयो ।





