
दिननाथ बराल,
पोखरा १, साउन,
कास्कीको माछापुच्छ्रे, गाउँपालिका वडा नम्बर ६ धितालका दुग्ध किसानहरू यतिबेला निराश भएका छन्। स्थानीय धिताल दुग्ध उत्पादन सहकारी संस्थालाई दूध दिँदै आएका किसानहरूले केही समयदेखि आफ्नो भुक्तानी नपाउँदा उहाँहरू हाल निराश हुनु भएको हो ।
गाउँमा उत्पादन भएको दूधलाई सङ्कलन गरेर सहकारीले पोखराको लवकुश डेरी उद्योग प्रा.लि.लाई उपलब्ध गराउँदै आइरहेको छ । यद्यपि लवकुश डेरीले समयमै किसानको रकम भुक्तानी गर्न नसक्दा किसानहरु निराश हुनु भएको हो । लवकुश डेरी सञ्चालक सुस्मा पहारीले यतिबेला दूधको अफ्सिजन भएको हुँदा दुधलाई विभिन्न प्रसोधन गर्नुपर्ने हुँदा समयमै रकम भुक्तानी गर्न नसक्ने बाध्यता रहेको पोखराक्लिकलाई बताउनुभयो । दूधको अफसिजनमा करिब २ देखि ३ महिनासम्म किसानहरूलाई आफूले भनेको बेलामा भुक्तानी गर्न नसक्ने अबस्थामा रहेको उहाँले जनाउनु भयो । लवकुश डेरीले कास्कीका विभिन्न ग्रामीण क्षेत्र जस्तै धिताल त्यसैगरी लाहाचोक फलेवास, सहित चितवनबाट समेत दूध आयात गर्ने गरेको छ ।
उक्त सहकारीका सचिव खेमबहादुर भुजेलले गाउँमा स्थापना भएको उक्त सहकारीले विगत लामो समयदेखि लवकुश डेरीलाई नै दुध उपलब्ध गराउदै आएको बताउनु भयो । उक्त डेरीबाट करिब ५० लाख भुक्तानी हुन बाँकी हुँदा किसानहरूलाई आफूहरूले चाहेर पनि रकम उपलब्ध गराउन नसकेको उहाँले बताउनुभयो ।
धिताल दुग्ध उत्पादन सहकारी संस्थामा हाल दैनिक जसो ६०० देखि ६५० लिटर दूध उत्पादन हुँदै आइरहेको छ । यद्यपि पछिल्लो क्रममा रकम भुक्तानी समयमै नहुँदा ९२ जनासम्म पुगेका कृषकहरु मध्ये हिजोआज ६५ देखि ७० जना मात्र सीमित हुन पुगेको सहकारीले जनाएको छ । सहकारीमा भने ६० जना शेयर सदस्य आबद्ध हुनुहुन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उक्त दूध सङ्कलनको लागि मिल्क चिलिङ भ्याट (दूध संकलन केन्द्र ) स्थापनाको लागि सहयोग गरेको छ । १ हजार लिटर क्षमताको उक्त चिलिङ भ्याट स्थापना गर्न ५ लाख १९ हजार खर्च भएको थियो भने जसमध्ये ८५% जसो प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाबाट प्राप्त भएको सचिव भुजेलले बताउनुभयो। मिल्क चिलिङ भ्याटको अभावमा आफुहरुले धेरै सास्ती भोग्नु परेको उहाँले गुनासो गर्नुभयो । डेरी उद्योगले उपलब्ध गराएको मिल्क चिलिङ भ्याट पुरानो भएकोले मर्मत संहार गर्दा बर्षेनी १ लाख भन्दा बढी खर्च भएको अबस्थामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आफुहरुलाई उक्त मिल्क चिलिङ भ्याट स्थापना गर्न सहयोग गरेकोमा आफुहरुलाई ठुलो राहत मिलेको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत माधव लम्सालले किसानलाई प्रोत्साहन गर्न उक्त परियोजनामा सहयोग गरिएको बताउनु भयो । कार्यालयको नेतृत्वमा सोमबार उक्त दुध संकलन केन्द्रमा अनुगमन समेत गरिएको थियो । विगत दुई महिना देखि उक्त दुध संकलन केन्द्रमा परियोजनाको मिल्क चिलिङ भ्याट संचालनमा आएको हो ।






