
दीननाथ बराल,
पोखरा २७, असार,
गण्डकी प्रदेशमा हालसम्म करिब ५६ प्रतिशत मात्र धान रोपाई भएको छ । यही असार महिनाको २१ गते (आइतबार) सम्म यस बर्ष गण्डकी प्रदेशमा ५५.५९ प्रतिशतले ५२ हजार ३ सय ५३ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले पोखराक्लिकलाई बताउनु भयो ।
गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा धान रोपाई गर्न योग्य जमिन रहेको उहाँले जनाउनु भयो । गण्डकी प्रदेशका ११ जिल्ला मध्य हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान खेति खासै हुने गरेको छैन् । प्रदेशका ९ जिल्ला मध्य हालसम्म सबै भन्दा धेरै लमजुङमा ७३ प्रतिशत र सबै भन्दा कम दुई वटा जिल्ला गोर्खा र पर्वतमा समान ४० प्रतिशत मात्र धान रोपाई भएको कार्यालयले दिएको तथ्याङमा उल्लेख गरिएको छ । त्यसै गरी लमजुङमा ७२.९५ प्रतिशतले ६ हजार ७ सय ८४ हेक्टर क्षेत्रफलमा गत आइतबारसम्म धान रोपाई गरिएको छ भने यस क्षेत्रमा ९ हजार २ सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाइ गर्न योग्य क्षेत्रफल रहेको छ ।
गोर्खामा यस बर्ष १० हजार १ सय ४० हेक्टर क्षेत्रफलमा धान खेति गर्न योग्य जमिन भए पनि गत आइतबारसम्म करिब ४०.२४ प्रतिशतले ४ हजार ८० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अर्थ विज्ञ पौडेलले जनाउनु भयो । त्यस्तै पर्वतमा पनि गत आइतबारसम्म ४०.०० प्रतिशतले २ हजार ८ सय ७२ हेक्टर क्षेत्रफलमा धान खेति गरिएको छ भने ७ हजार १ सय ८० हेक्टर क्षेत्रफलमा धान रोपाई गर्न योग्य रहेको कार्यालयले जनाएको छ ।
त्यसै गरी कास्कीमा गत आइतबारसम्म ६१.७४ प्रतिशत धान रोपाई गरिएको छ । कास्कीमा १० हजार १५ हेक्टर क्षेत्रफलमा हालसम्म धान खेति गरिएको छ भने १६ हजार २ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाई हुने योग्य मानिएको उहाँले दाबी गर्नुभयो । त्यस्तै तनहुँमा गत आइतबारसम्म ५९.४० प्रतिशतले ५ हजार १ सय ८० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अर्थ विज्ञ पौडेलले उल्लेख गर्नुभयो ।
म्याग्दीमा यही असार २१ गतेसम्मको तथ्याङ अनुसार ५१ प्रतिशतले १ हजार ९ सय ४१ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । त्यस्तै बागलुङमा हालसम्म ५४.९९ प्रतिशतले ३ हजार १ सय ३८ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कार्यालयले जनाएको छ । नवलपरासीमा हालसम्म हेर्दा ५८.०१ प्रतिशतले १० हजार ८ सय ६० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अर्थ विज्ञ पौडेलले बताउनु भयो । कार्यालयले हरेक आइतबार मात्र यसको तथ्याङक संकलन गरी अध्यावधिक गर्ने भएको छ । अघिल्ला बर्षको तुलनामा यस बर्षको असार अन्तिम सातासम्म आउँदा धेरै ठाउँमा मुलहरु फुट्ने र धान रोपाई धमाधम हुने अबस्था रहेकोेमा हालसम्म धेरै टारी खेतहरुमा मुल नफुटेका कारण धान रोपाई गर्न किसानले मुल फुट्ने आशामा पर्ख र हेरको अबस्थामा रहेको स्थानिय किसानहरुले गुनासो गर्नु भएको छ । एकाद किसानले भने भलपानी बर्षाद हुँदा फाट्य फुट्य स्थानमा धान रोपाई गर्दै आउनु भएको छ ।
गण्डकी प्रदेशका ९ जिल्लामा प्राय गरी साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, महाराजा, च्याम्पियन, युस–३१२, सावामन्सुली, मकवानपुर १, वर्णशंकर, जेठोवुढो, पहेले, गुर्दि, एक्ले, खुमल–४,१०, गौरिया,बयर्नी, सेतो र लामो झिनुवा,मार्सी, बिरिमफूल,कालो र टुँडे झिनुवा, जर्नेली पहेंलो, मार्सी, उन्नत पोखरेली जेठोबुढो, सावा मन्सुली, साबित्री, हर्दिनाथ–६, ताइचुङ, यूएस–३१२, रामधान, अनदि लगायतका जातका धान खेति हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ । कास्कीमा प्रायः गरी जेठोबुढो, पहेले, एक्ले, खुमल ४, १०, गौरिया, बयर्नी, सेतो र लामो भिनुवा, मार्सी, बिरिमफुल, कालो र टुंडे झिनुवा, वर्णशंकर–यूएस ३१२ लगायतका जातका धान खेति हुदै आएको छ ।





