
दीननाथ बराल,
पोखरा ४, पुष,
कास्कीको घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते हुनु भएको छ । विहिबार दिउँसो करिब १ः४५ बजे पोखराबाट घान्द्रुक जार्दै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो भिरमा खस्न पुग्दा एक जनाको मृत्यु भएको छ भने ४ जना यात्रु घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी मुस्ताङ थासाङ गा.पा.१ टुकुचे बस्ने ७० बर्षकी भिम कुमारी थकालीको मृत्यु भएको स्थानियले बताउनु भयो ।
त्यसै गरी घान्द्रुकको बिकासे डाँडाबाट चालकले अगाडीको बाटो हेर्न जाने क्रममा अचानक उक्त स्कारपियो भिरमा बस्न पुग्दा करिब ६ सय मिटर तलको भिरमा पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वशन्त कुमार शर्माले बताए । स्कारपियो भिरमा खस्न पुग्दा स्कारपियोमा सवार ६ मध्य ५ जना घाइते हुनु भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष गौतम गुरूङले बताए ।
उक्त दुर्घटनामा परी पोखरा १६ दिप बस्ने २० बर्षकी रिहाना थकाली, मुस्ताङ थासाङ गाउपालिका वडा नं. १ टुकुचे बस्ने ३१ बर्षकी ज्योती खत्री थकाली, बाग्लुङ गलकोट नगरपालिका वडा नं.१ झाँक्रीस्थान बस्ने ७६ बर्षकी खिम कुमारी खत्री र बाग्लुङ झाँक्रीस्थानकी करिब ५२ बर्षकी नविना खत्री घाइते भएका छन् । उनीहरुलाई हेलिकोप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पतालमा ल्याई उपचार गरिदैछ ।
सवारी चालक स्याङ्जा भिरकोट न.पा.२ डाँडाकोट बस्ने ४३ बर्षका गोबिन्द श्रेष्ठलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । स्कारपियोमा सवार बाग्लुङ गलकोट न.पा.१ झाँक्रीस्थान बस्ने ४० बर्षकी अनिता खत्री सकुसल छिन् । स्थानियको साथमा प्रहरी चौकी घान्द्रुक, प्रहरी चौकी बिरेठाँटी र वडा प्रहरी कार्यालय बगर कास्कीको टोलीले घाइतेहरुको यात्रुहरुको उद्धार गरेका थिए ।