अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउछौंः मन्त्री गिरी

-


     पोखरा क्लिक     
     फागुन २७ गते २०८० मा प्रकाशित


नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले धराशायी भएको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको छ । कास्कीको रूपा गाउँपालिकाको सातौं स्थापना दिवसको कार्यक्रममा आइतबार बोल्दै उहाँले धराशायी अबस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको हो ।

नेपाली युवाहरुलाई स्वदेशमै रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने गरी सरकारले कार्यक्रम ल्याउने तयारी गरेको मन्त्री गिरीको भनाई थियो । विचार नमिल्नेहरुको विगतमा भएको गठबन्धनको सरकारले चाहेर पनि राजनीतिक समस्याको समाधान, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न नसकेको उहाँको आरोप थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले विगतमा अत्यन्त कष्टकर झेल्नु परेको निराशाजनक हुदै, असाध्यै पट्यारलाग्दो अबस्थाबाट गुज्रिनु परेको मन्त्री गिरीको भनाई थियो । नेपालमा छोटो छोटो समयमा सरकार परिवर्तन हुनुमा विभिन्न शक्तिहरूको चलखेल रहने गरेको उहाँको दाबी थियो ।

रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको गाँउपालिकाका अध्यक्ष नवराज ओझाले बताउनु भयो । कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल लगायतको सहभागिता रहेको थियो ।

अध्यक्षकप पुरुष भलिवल प्रतियोगिता–२०८०“, रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगिता, माला प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान, वडा गत रूपमा कृषि प्रद्र्धशनी लगायतका विविध साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम भएको सूचना अधिकारी लोकनाथ अधिकारीले बताउनु भयो ।