नश्ल सुधारको लागि स्याङ्बोचे, सोलुखुम्बुबाट पोखरा हुदै मुस्ताङ पुग्यो याक

-


     दीननाथ बराल    
     पौष १८ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पोखरा १८, पुष

मुस्ताङमा याकको नश्ल सुधारका लागि स्याङ्बोचे, सोलुखुम्बुबाट एक साता लागेर याक (भाले) पोखरा हुदै मुस्ताङ पुर्याइएको छ । नश्ल सुधारका लागि नेपालको सरकारी एक मात्र याक अनुवांशिक स्रोत केन्द्र स्याङ्बोचे, सोलुखुम्बुबाट करिब प्रति याक २० हजार देखि २५ हजारमा खरिद गरि मुस्ताङ र मनाङ जिल्लाका कृषक, समूह÷समितिलाई गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय मार्फत १९ वटा याक वितरण गर्न पुर्याइएको निर्देशनालयका सूचना अधिकारी डा.सपनालक्ष्मी घिमिरेले बताउनु भयो ।

गण्डकी प्रदेशको हिमालपारीका जिल्ला मनाङमा ९ र मुस्ताङमा १० वटा याकको नश्ल सुधारका लागि याक वितरण गरिएको उहाँले जनाउनु भयो । मुस्ताङ लैजाने क्रममा याक मंगलबार बेलुका पोखरामा आयोजित एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सांसदहरु विकल शेरचन र नम्डु गुरुङ सहितको टोलीलाई हस्तान्तरण गर्नु भएको हो ।

याक हस्तान्तरण गर्दै उहाँले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । उक्त नश्ल सुधार कार्यक्रमले हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताउदै त्यसको भरपूर्ण रुपमा उपभोग गर्न मुख्यमन्त्रीले आग्रह गर्नु भयो ।
९ वटा याक मनाङको चामेमा बुधबार वितरण भएको मनाङ पुग्नु भएका निर्देशनालयका बरिष्ठ पशु बिकास अधिकृत डा.बालकुमार श्रेष्ठले बताउनु भयो । याकको नश्ल र जातिय सुधारको लागि पहिलो पटक उक्त याक(भाले) प्रजातिको करिब डेढ देखि दुई बर्षका याक वितरण गरिएको हो । सोलुखम्बुबाट यही पुष १२ गते हिडाएको उक्त याक आज मात्र मनाङमा पुगेको डा.श्रेष्ठले जनाउनु भयो । उक्त याक ४ दिन हिडाइएको थियो भने बाँकी गाडीमा तापक्रम मिलाउदै उनीहरुलाई सकुसल मनाङसम्म पुर्याएको उहाँले जनाउनु भयो ।