नेपाली कला, संस्कृति र खानाका परिकार स्पेनको दोनस्तीमा

-


     पोखरा क्लिक     
     जेठ १० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा,

स्पेनको दोनस्तीस्थित नेपाली समाज दोनस्तीले नेपाली कला, संस्कृति र मौलिक खानाका परिकार मार्फत नेपालको पहिचान प्रवर्द्धन गरेको छ ।

यहाँको सान सेबास्तिआन नगरपालिकासँगको समन्वयमा आयोजना भएको “फुड फेस्टिभल” मा नेपाली समाज दोनस्तीले नेपाली स्वाद, भेषभूषा र सांस्कृतिक प्रस्तुति झल्किने विशेष कार्यक्रम आयोजना गरेको हो ।

यही मे २३ तारिख (शनिबार) आयोजना भएको कार्यक्रममा नेपाली मौलिक परिकारहरू पस्किने कार्यक्रम भएको थियो । कार्यक्रममा मःम, पकौडा, समोसा, सेलरोटी लगायत नेपाली स्वाद झल्किने विभिन्न खानाका परिकार प्रर्दशनी भएको थियो भने खानाको बारे संस्थाका कोषाध्यक्ष कमल थापा मगर तथा सक्रिय सदस्य अरुण (दया) पोखरेलले चर्चा गरेका थिए ।

त्यसैगरी कार्यक्रममा नेपालीपन झल्किने सांस्कृतिक प्रस्तुति पनि आकर्षणको केन्द्र बन्यो। संस्थाकी सदस्य तथा कलाकार रञ्जना कुइँकेलले टिपिकल नेपाली नृत्य प्रस्तुत गर्दा थप मनोरन्जन दिलाएकी थिइन् । सांस्कृतिक कार्यक्रम बेलुका ६ बजेपछि सञ्चालन भएको कोषाध्यक्ष कमल थापा मगरले बताए ।

नेपाली समाज दोनस्तीका अध्यक्ष अशोक रुम्बा लामाले विदेशमा बसेर पनि नेपालको कला, संस्कृति, साहित्य, भाषा र व्यवहारमार्फत देशको पहिचान विश्वसामु चिनाउन सकिने बताए । उनले नेपाली मौलिक खाना, सांस्कृतिक कार्यक्रम तथा सामाजिक सहकार्यले नेपाली समुदायको सकारात्मक छवि निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनका अनुसार यस्ता कार्यक्रमले नेपालीहरूबीच मित्रता, एकता र सद्भाव बढाउनुका साथै अन्य देशका नागरिकहरूसँग सहकार्य र सम्बन्ध विस्तार गर्ने अवसर समेत प्रदान गर्छ । “यदि हामी सबै हातेमालो गर्दै अगाडि बढ्यौं भने विदेशमा पनि नेपाली समुदायको छुट्टै पहिचान स्थापित गर्न सकिन्छ,” उनले भने ।

कार्यक्रममा स्थानीय समुदायसँग सहकार्य गर्दै नेपालको पर्यटकीय सुन्दरता, सांस्कृतिक विविधता र मौलिक परम्पराको प्रचारप्रसार भएको आयोजकले पोखराक्लिकलाई जनाइएको छ ।